Friday, February 7, 2025
समाजनवविवाहिता एलिनाको डिभोर्स प्रकरण, सञ्जालमा ‘भावनात्मक विवाह’को बहस

नवविवाहिता एलिनाको डिभोर्स प्रकरण, सञ्जालमा ‘भावनात्मक विवाह’को बहस

काठमाडौं | गायिका एलिना चौहानले विवाह गरेको नौ महिना नपुग्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेपछि सामाजिक सञ्जालमा उनीमाथि व्यापक चर्चा भइरहेको छ। धेरैले उनको व्यक्तिगत निर्णयलाई समर्थन गरिरहेका छन् भने केहीले यसलाई ‘हतारको विवाहको नतिजा’ भनेर टिप्पणी गरिरहेका छन्।

एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँगको सम्बन्ध टुंग्याउन मुद्दा दायर गरिन्। उनले ‘माना चामल’ वा ‘अंश’को दाबी नगरे पनि विष्णुले आफूलाई शंका गर्ने, चरित्रमाथि प्रश्न उठाउने जस्ता कुराले सम्बन्धलाई टिक्न नसकेको बताएकी छन्।

तर यो घटनाले एउटा फरक बहस सुरु गराएको छ— ‘भावनात्मक विवाहको जोखिम’

‘हतारको निर्णय’को स्वीकारोक्ति

एलिनाले आफ्नो पछिल्लो लाइभमार्फत विवाहबारे खुलेर कुरा गरेकी छन्। उनले विष्णुसँग प्रेम विवाह गरेको भए पनि त्यो हतारको निर्णय भएको स्वीकारिन्। बिहेअघि नै सम्बन्धमा ‘खटपट’ रहेको खुलाउँदै उनले ‘मैले नै सहन सकिनँ, त्यसैले सम्बन्धविच्छेद गर्ने निर्णय गर्यौँ,’ भनेकी छन्।

आजकल सामाजिक सञ्जालमा प्रेम, आकर्षण र क्षणिक भावनाको भरमा गरिएको निर्णयलाई लिएर गहिरो बहस हुने गर्छ। एलिनाको विवाह विफलताले धेरै युवालाई गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ— विवाह केबल भावनाले मात्रै सम्भव छ त?

एलिनाले आफ्नो निर्णयलाई स्वाभाविक ठाने पनि सामाजिक सञ्जालमा यसबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। कतिपयले उनलाई हतारमा ठूलो निर्णय गरेको भन्दै प्रश्न गरिरहेका छन् भने केहीले सम्बन्धविच्छेदलाई साहसी निर्णय भन्दै प्रशंसा गरिरहेका छन्।

अझ रोचक कुरा, एलिनाले आफ्ना समर्थकलाई विष्णु सापकोटालाई गाली नगर्न आग्रह गरेकी छन्। ‘उहाँलाई नराम्रो नभन्नुहोला, बरु मलाई गाली गर्नु,’ उनले भावुक हुँदै भनेकी छन्।

एलिनाले विवाह गर्दा आफू कलाकार भएको थाहा हुँदाहुँदै विष्णुले बिहे गरेको बताएकी छन्। यति हुँदा पनि सम्बन्धमा विश्वास कायम राख्न नसकिएको उनले स्विकारिन्। यो घटनाले सेलिब्रिटीको व्यक्तिगत जीवनमा आउने सामाजिक दबाबको चित्रण गर्छ।

एकातिर, चर्चित व्यक्तित्व भएकाले सामाजिक सञ्जालमा उनीहरूको सम्बन्धको हरेक पाटो सूक्ष्म रूपमा विश्लेषण गरिन्छ। अर्कोतिर, सम्बन्धविच्छेद जस्तो निजी निर्णयसमेत सार्वजनिक बहसको विषय बन्दछ। एलिनाको घटनाले पुनः प्रश्न उठाएको छ— व्यक्तिगत जीवनमा बाहिरी हस्तक्षेप कति उचित छ?

एलिनाले सम्बन्धविच्छेद दायर गरे पनि विष्णुप्रति अझै माया रहेको बताएकी छन्। ‘मायाको कुरा गर्दा आफूले माया गरेको मान्छेलाई गाली आउँदा बढी नै पीडा हुँदो रहेछ,’ उनले भनिन्।

तर उनले नै भनेजस्तै, ‘जिन्दगीमा कस्तो–कस्तो भोग्यो! कस्तो–कस्तो सहियो! खरानी भइसकेको मान्छेलाई आगोसँग डर हुँदैन!’

एलिनाको सम्बन्धविच्छेद चर्चाको विषय बनेसँगै सामाजिक सञ्जालमा विवाह, भावनात्मक निर्णय र दाम्पत्य सम्बन्धबारे बहस सुरु भएको छ। सम्बन्धलाई टिकाउन चाहना मात्रै होइन, आपसी समझदारी, विश्वास र धैर्य आवश्यक पर्ने स्पष्ट भएको छ। एलिनाको यो निर्णय उनको व्यक्तिगत जीवनको एउटा अध्यायको अन्त्य भए पनि, यसले समाजलाई प्रेम, विवाह र सम्बन्धको वास्तविकता पुनर्विचार गर्न बाध्य बनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस