Saturday, March 15, 2025
समाजप्रेम सम्बन्धबाट सुरू भएको विवादले नवलपरासीमा हिंसात्मक रूप लिँदा २० जना घाइते

प्रेम सम्बन्धबाट सुरू भएको विवादले नवलपरासीमा हिंसात्मक रूप लिँदा २० जना घाइते

नवलपरासी | नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३, बेलासपुरमा प्रेम सम्बन्धका कारण दुई पक्षबीच झडप हुँदा २० जना घाइते भएका छन्। घटनामा दुई जनाको अवस्था गम्भीर छ भने आक्रोशित भिडले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी जलाउनुका साथै एउटा कवाडी गोदाममा आगजनी गरेका छन्।

बेलासपुरका एक युवक र युवतीबीच प्रेम सम्बन्ध थियो, तर दुबै पक्षका परिवारबीच असहमति रहँदै आएको थियो। मंगलबार साँझ केटाको भाइ बेलासपुर पुगेपछि केटी पक्षका आफन्त सोवराती पवरिया सहितको समूहले उनलाई कुटपिट गरे। सोही घटनाका कारण विवाद झनै चर्किँदै गएपछि बुधबार बिहान केटा पक्ष सोधपुछका लागि केटी पक्षको घर पुगे।

उक्त समयमा केटी पक्षले घरको छतबाट ढुंगा प्रहार गरे भने केटा पक्षले तलबाट जवाफी प्रतिक्रिया दिए। भिड नियन्त्रण बाहिर गएपछि केटा पक्षले केटी पक्षका आफन्तको कवाडी गोदाममा आगो लगाए। भाग्ने क्रममा गाडीको ठक्करले दुई जना गम्भीर घाइते भए। झडपका क्रममा विजय धवल र ४५ वर्षीय बैजनाथ प्रसाद लोनिया गम्भीर घाइते भएका छन्, जसको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ।

स्थिति नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको थियो। झडपमा ११ जना नेपाल प्रहरी, ४ जना सशस्त्र प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्। आक्रोशित भिडले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी समेत जलाएका छन्।

प्रहरीले आगजनीमा संलग्न चार महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। हाल घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारीले जानकारी दिएका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img