हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४९औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईं, रोशन शाह, सुनिल शिवाकोटी र सुरुची रेग्मीलाई नगद पाँच हजार तथा प्रशंसापत्रसहित सम्मान गरिएको थियो। विद्यालयकी कर्मचारी सपनामाया गोलेलाई नगदसहित कदरपत्र प्रदान गरिएको थियो भने विद्यालयमा सर्वाधिक उपस्थिति जनाउने शिक्षक सुप्रिया चौलागाईं र शोभा तिम्सिनालाई पनि विशेष सम्मान गरिएको थियो। विद्यालय भवन निर्माणमा योगदान पुर्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख डा. शंकर उपाध्यायलाई समेत सम्मान गरिएको थियो।
त्यस्तै, २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी तथा आधारभूत तहमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको थियो। साथै, सतप्रतिशत नतिजा प्राप्त भएका विषयका विषय शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही अवसरमा विद्यालयले त्रैमासिक रूपमा प्रकाशन गर्ने ‘सिद्धार्थ बालबाटिका’ पत्रिकाको विमोचन पनि गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मीनाकुमारी लामाले हेटौंडा नगर तथा जिल्लाको शैक्षिक उन्नतिमा सिद्धार्थ माध्यमिक विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।