चितवन | बागमती प्रदेश सभाको आयोजनामा सोमबार चितवनको माडी नगरपालिकामा “स्थानीय सरकारसँग कानुन निर्माण, कार्यान्वयन र अपेक्षा” विषयमा विशेष छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन र अध्यक्षता प्रदेश सभाका सभामुख मा. भुवन कुमार पाठकले गरेका थिए ।
उद्घाटन सम्बोधनका क्रममा सभामुख पाठकले संघीयताको अभ्यास सुदृढ पार्न प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनले भने, “कानुन निर्माणमात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा स्थानीय सरकारहरूको भूमिकालाई व्यवस्थित गर्न यस खालको छलफल महत्त्वपूर्ण छ।” पाठकले स्थानीय सरकारहरू संविधानले दिएको अधिकारलाई व्यावहारिकरूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेशका सांसदहरू, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरू, कानुनविद्हरू, नीति निर्माता, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। छलफलमा प्रदेश र स्थानीय तहबीचको अधिकारको सीमा, दोहोरो कार्यक्षेत्र, कानुनी अस्पष्टता, र प्रदेशस्तरीय ऐनहरूको स्थानीय कार्यान्वयनका समस्याहरूबारे गहिरो बहस भएको थियो।
प्रदेश सभाले यस अन्तर्क्रियालाई आगामी नीतिगत तथा कानुनी सुधारको आधार बनाउने जानकारी गराइएको छ। सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरी प्रदेश सरकार र सभासँग समन्वयमा आवश्यक ऐन संशोधन र मार्गनिर्देशन तय गरिनेछ।



