हेटौँडा | मकवानपुरको हेटौंडामा यात्रुबाहक बसको ठक्करले एक पैदल यात्रुको ज्यान गएको छ।
आइतबार राति करिब ११:४० बजे हेटौंडा–८, एचआइडी नजिक पूर्व–पश्चिम राजमार्गमा पोखराबाट कटारीतर्फ गइरहेको ना ७ ख ११०१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको हो।
मकवानपुर प्रहरीका अनुसार, बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा सखुवा पर्सौनी गाउँपालिका–३ कटैयाका ३६ वर्षीय परबेज अन्सारीको हेटौंडा अस्पतालमा उपचारका क्रममा आज बिहान १:१३ बजे मृत्यु भएको छ।
डिएसपी श्यामु अर्यालले बताएअनुसार, मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रकका मालिक हुन्। ट्रक सोही क्षेत्रमै बिग्रिएर मर्मतका लागि मिस्त्री बोलाइएको थियो। मर्मतपछि मिस्त्री र सामान पुर्याउन पैदल जाँदै गर्दा अन्सारीलाई बसले ठक्कर दिएको हो।
दुर्घटनापछि बस चालक फरार भए पनि बारा प्रहरीले अमलेखगन्जबाट बिहान ३ बजे चालक युवराज माझी (३९), उदयपुर कटारी नगरपालिका–२ निवासीलाई बससहित पक्राउ गरेको छ। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।