नेपालका सडकहरू फेरि तातिरहेका छन्। आक्रोशले भरिएका शिक्षकमात्र होइनन्, राज्यप्रणालीप्रति उठेको गहिरो असन्तोषले अहिले सहरका गल्ली, चोक र संसद् अड्डासम्म तरङ्गित बनेका छन्। तर, यिनै भीड र धुवाँबीच फेरि हराइरहेका छन् पत्रकार—सत्यका साक्षीहरू, जसले न बन्दुक बोकेका छन्, न ढुंगा। तर, बल प्रयोग र दमनको पहिलो शिकार भने बारम्बार उनीहरू नै बन्छन्।
आज आइतबार समाचार कभर गर्न गएकी पत्रकार सविना कार्कीको आँखामा पानीको फोहोरा पर्यो। अहिले उनी अस्पतालको बेडमा छन्। घटनाहरू एकपछि अर्को दोहोरिन्छन्। पीडा मात्र बदलिन्छ, पीडित उही रहन्छन्—साँचो दृश्य देखाउने पत्रकार। यसअघि राजावादी प्रदर्शनमा हामीले हाम्रा पत्रकार सुरेश रजक गुमायौँ, थुप्रै अन्य मिडियाकर्मी घाइते भए।
तर यो कुनै नयाँ कथा होइन। थरुहट आन्दोलन, डा. गोविन्द केसीको स्वास्थ्य सुधार अनशन, कोरोना निषेधाज्ञाको कालो अध्याय—सबैतिर रिपोर्टरहरू नै भिडको लाठी, सुरक्षाकर्मीको बुट र सत्ताको अँध्यारो रिसको शिकार भए। हामीले सिकेनौं। मिडिया संस्थानहरू चुप लागे। महासंघ भाषणमा व्यस्त रह्यो । सरकार आँखा चिम्लियो। अनि पत्रकारहरू भने आफूलाई जोगाउने तर्खरमा, आफ्नो करियर र ज्यानको बिच सन्तुलन खोजिरहेका छन्।
आजको वास्तविकता निर्दयी छ। रिपोर्टर्स स्यान्स फ्रन्टियर्सद्वारा प्रकाशित २०२४ को वर्ल्ड प्रेस फ्रीडम इन्डेक्समा नेपाल १८० देशमध्ये ७६ औं स्थानमा छ। यति स्थान पाउनु आफैँमा चुनौतीपूर्ण होइन, तर वास्तविक भुइँतहको अवस्था अझ डरलाग्दो छ। दक्षिण एशियामा मात्र हेर्दा नेपालभन्दा अगाडि भुटान (९९ औं) र माल्दिभ्स (१०० औं) जस्ता देशहरू प्रेस स्वतन्त्रतामा स्थिरता देखाइरहेका छन्। तर नेपालमा अझै रिपोर्टिङ गर्दा घाइते हुनु, धम्की खानु, र दुर्व्यवहार भोग्नु नियमित बनिरहेको छ।
दोस्रो पाटोमा, युरोपका देशहरूमा स्थिति पृथक छ। नर्वे, आयरल्याण्ड, डेनमार्कजस्ता देशहरूमा पत्रकारलाई “द्वन्द्व क्षेत्र सुरक्षा तालिम” अनिवार्य गरिएको छ। जर्मनीमा रिपोर्टिङ गर्न जाँदा सुरक्षाका लागि विशेष गाइडलाइन र हेल्मेट, गगल्स, वेस्ट अनिवार्य हुन्छ। फ्रान्समा सरकार स्वयंले पत्रकार सुरक्षाका लागि कोष स्थापना गरेको छ। तर, नेपालमा? आन्दोलन रिपोर्टिङका लागि न त सरकारी सुरक्षा योजना छ, न मिडिया हाउसहरूबाट आवश्यक तालिम, न त सुरक्षाका न्यूनतम ग्यारेन्टी।
यस स्थितिमा अब बहाना बाँकी छैन। सरकार सुरक्षा दिन असफल छ। संघहरू गम्भीरता गुमाइसकेका छन्। मिडिया हाउसहरू आफ्ना रिपोर्टरलाई “स्कूप” खोज्न धकेल्छन्, तर सेफ्टी किट दिन कञ्जुस्याउँछन्। अनि पत्रकारहरू, आफ्नै ज्यानलाई जोखिममा राखेर ‘ब्रेकिङ न्युज’ खोज्न थाल्छन ।
त्यसैले आग्रह सरल छ तर गहिरो छ—पहिला आफू सुरक्षित रहौं। भिडको अग्रपङ्क्तिमा नपसौं। रिपोर्टिङ साइडबाट गरौं। सुरक्षा उपकरण प्रयोग गरौं। साथीसँग खटौं। भाग्ने बाटो पहिल्यै सोचौं। र, साहुजीको ‘स्कूप ल्याऊ’ भन्ने हुकुमलाई आँखामाथि राख्नु अघि, आफ्नो ज्यानलाई पहिलो प्राथमिकता दिऔं। किनकि ज्यान रहे मात्र खबर हुनेछ। जीवन सुरक्षित रहे मात्र सत्य बोल्न सकिन्छ।
नेपालमा आज संकट केवल शिक्षा र रोजगारीको होइन। आज संकट पत्रकारिताको अस्तित्वमा छ। हाम्रो वाचाको संकट हो। हाम्रो उपस्थितिको संकट हो। सत्यलाई देखाउने आँखाको संकट हो। यदि आज हामीले आफू सुरक्षित राख्ने सीप सिकेनौं भने, भोलि सत्य हराउनेछ, हामी हराउनेछौं, अनि सत्ताको एकपक्षीय कथा मात्र बाँकी रहनेछ।
अतः, आजैबाट प्रतिबद्ध बनौं—पहिला आफू सुरक्षित बनौं। प्रेस कार्ड बोकेर मात्र होइन, चेतनाको कवचले आफैंलाई सुरक्षित गरौं। भीडको रिस र राज्यको लाठी दुवैलाई चिर्दै बाँच्न सिकौं। नत्र, पत्रकारिताको नाममा केवल सम्झना बाँकी रहनेछ—रित्तो, निष्प्राण सम्झना।