धर्म/संस्कृतिआज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। सौरमासअनुसार साउनको पहिलो सोमबारबाट सोमबारे व्रतसमेत सुरु भएको छ।

भगवान् शिवको प्रिय महिना र बारका रूपमा साउन तथा सोमबारलाई लिइने भएकाले पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा भक्तजन पूजाआराधना, दर्शन र जल चढाउन पुगेका छन्। विशेषगरी महिलाहरू व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ।

काठमाडौँस्थित पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान साढे ३ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। भक्तजनलाई व्यवस्थित रूपमा दर्शन गराउन चारवटा लामको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बिहानैदेखि भक्तजनको आगमन भए पनि दर्शनका लागि लाम धेरै लामो नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा आउने भक्तजनका लागि प्राथमिक उपचार, सुरक्षा, खानेपानी र अन्य अत्यावश्यक व्यवस्थासमेत मिलाइएको छ।

पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रमा रहेको मक्खन महादेवलगायतका शिव मन्दिरमा पनि भक्तजनको उपस्थिति रहेको छ। यसैगरी देशका विभिन्न जिल्लामा रहेका शिवालयमा बिहानैदेखि पूजा, आराधना र दर्शन गर्नेहरूको भीड लागेको छ।

धार्मिक मान्यताअनुसार साउन महिना भगवान् शिवको महिना हो भने सोमबार शिवको प्रिय बार मानिन्छ। यही विश्वासका आधारमा साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने, शिवलिङ्गमा जल, दूध तथा बेलपत्र चढाउने र शिव मन्त्र जप्ने परम्परा रहँदै आएको छ।

साउनको पहिलो सोमबारदेखि व्रत सुरु गरेका भक्तजनले अन्तिम सोमबार गोदान तथा पूर्णपात्र दान गरी व्रत समापन गर्ने धार्मिक परम्परा छ।

पुराणहरूमा साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष गरी मुख्य तीन प्रकारका सोमबार व्रतको चर्चा गरिएको पाइन्छ। सोमबारको व्रत सूर्योदयदेखि सुरु गरी दिनको तेस्रो प्रहरसम्म बस्ने धार्मिक विधि रहेको छ।

व्रतालुले दिउँसो करिब ३ बजेतिर भगवान् शिवको पूजा गरी व्रतकथा सुन्ने र बेलुका एकपटक सात्विक भोजन गर्ने प्रचलन छ। श्रद्धापूर्वक सोमबारको व्रत बस्दा मनोकाङ्क्षा पूरा हुनुका साथै जीवनका समस्या समाधान हुने जनविश्वास रहेको छ।

शास्त्रीय मान्यताअनुसार भगवान् शिवका तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा र बीचको आँखा अग्निको प्रतीक मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img