बागमती प्रदेशमकवानपुरअसारमा मकवानपुरमा १३५ अपराध दर्ता, लागूऔषध र ठगीका मुद्दा सबैभन्दा बढी

असारमा मकवानपुरमा १३५ अपराध दर्ता, लागूऔषध र ठगीका मुद्दा सबैभन्दा बढी

हेटौँडा । मकवानपुरमा असार महिनाभर १३५ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये ७७ वटा मुद्दा फर्छ्योट हुँदा ५८ वटा अझै अनुसन्धानकै क्रममा रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद प्रसाद काफ्लेले जानकारी दिए ।

डीएसपी काफ्लेका अनुसार असारमा सबैभन्दा धेरै लागूऔषधका २५, ठगीका २२, अभद्र व्यवहारका २१ र बैंकिङ कसुरका २२ मुद्दा दर्ता भएका छन्। चोरीका ६, ठगीका ६, जबरजस्ती करणीका ३, ज्यान मार्ने उद्योगका ३, सवारी अंगभंगका २, सवारी भवितव्य ज्यानका २, कर्तव्य ज्यान, सवारी ज्यान, अप्राकृतिक मैथुन, बाल यौन दुरुपयोग, नागरिकता, कर्तव्य अंगभंग, वैयक्तिक गोपनीयता, विद्युतीय अपराध, मापदण्ड विपरीतलगायत अन्य प्रकृतिका मुद्दासमेत दर्ता भएका छन्।

प्रहरीले असार महिनामा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको कारबाहीमा ५० जना पक्राउ परेका छन्। कारबाहीका क्रममा २८ किलो ५१४ ग्राम गाँजा, २१ ग्राम हेरोइन, ९६० मिलिग्राम हेरोइन, ४ ग्राम ६६ ग्राम १२० मिलिग्राम अफिम, ७६१ वटा ट्रामाडोल, ५६ क्याप्सुल नाइट्राजेपाम र २७ बोतल कोरेक्स बरामद गरिएको छ। यस क्रममा सात वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको डीएसपी काफ्लेले जानकारी दिए।

प्रहरीको तथ्याङ्कअनुसार असार महिनामा ४३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५ जनाको मृत्यु, १३ जना घाइते भएका छन् भने ६० जनाको उद्धार गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २०७ सवारी साधनमाथि कारबाही गर्दा २० लाख ३६ हजार ४ सय ७१ रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४३ वटा उजुरी परेका छन्, जसमध्ये ३५ वटा फर्छ्योट भएका छन्। घरेलु हिंसाका ३६ उजुरीमध्ये ३१ वटा मिलापत्र गरिएको, दुई वटा अदालत पठाइएको र बाँकी प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

असार महिनामा हराएका ३८ जनामध्ये ३० जना फेला परेका छन्। हराएकामध्ये १७ महिला, ६ पुरुष र १५ बालबालिका थिए भने फेला परेकामध्ये १३ महिला, ३ पुरुष र १४ बालबालिका रहेका छन्।

डीएसपी काफ्लेका अनुसार असारमा ११ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ७ पुरुष र ४ महिला छन्। आत्महत्या गर्नेमध्ये ९ जनाले झुण्डिएर र २ जनाले विष सेवन गरेर ज्यान गुमाएका हुन्। उमेर समूहअनुसार १८ वर्षमुनिका ३, १८ देखि ४० वर्षसम्मका ६ र ४० देखि ६० वर्ष उमेर समूहका २ जना रहेका छन्।

प्रहरीले अपराध न्यूनीकरणका लागि प्रो–एक्टिभ पोलिसिङ, नियमित गस्ती, अपराध प्रभावित क्षेत्रमा निगरानी, समुदाय–प्रहरी साझेदारी कार्यक्रम र आकस्मिक उद्धार टोली परिचालनलाई निरन्तरता दिएको जनाएको छ। असार महिनामा समुदाय तथा विद्यालय केन्द्रित १५७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा ४ हजार ४४८ जना सहभागी भएका थिए।

यसैगरी, असार महिनामा मकवानपुरमा १४ वटा विपद्का घटना भएका छन्। ती घटनाबाट ५३ लाख ७९ हजार ५ सय रुपैयाँभन्दा बढीको क्षति भएको विवरणमा उल्लेख छ। प्राकृतिक स्रोत दोहन नियन्त्रणका क्रममा ६ वटा टिप्पर तथा एक्साभेटर नियन्त्रणमा लिई १ लाख २२ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

डीएसपी माधवप्रसाद काफ्लेले अपराध नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, ट्राफिक व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी तथा जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाइने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img