हेटौँडा । आन्तरिक राजस्व कार्यालय हेटौँडाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ७९६ नयाँ करदाता थपिएका छन्। व्यक्तिगत तथा व्यावसायिक प्यान, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र विथहोल्डिङ प्यानअन्तर्गत उक्त संख्यामा नयाँ करदाता दर्ता भएका हुन्।
कार्यालयका सूचना अधिकारी ध्रुवसिं घलानका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यक्तिगत प्यानतर्फ ११ हजार ५६६ नयाँ करदाता दर्ता भएका छन्। आयकरतर्फ एक हजार ७३०, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ४०२, अन्तःशुल्कतर्फ ८३ र विथहोल्डिङ प्यानतर्फ १५ वटा नयाँ दर्ता भएका छन्।
व्यवसायको प्रकृतिअनुसार व्यक्तिगत स्वामित्वका एक हजार ३४० व्यवसाय नयाँ करदाताका रूपमा दर्ता भएका छन्। विभिन्न प्रकृतिका व्यावसायिक संस्था ८७५ र सरकारी संस्थाको विथहोल्डिङ प्यानतर्फ १५ वटा दर्ता भएको घलानले जानकारी दिए ।
व्यावसायिक संस्थातर्फ नयाँ दर्ता भएका ८७५ करदातामध्ये निजी कम्पनी ३४०, उपभोक्ता समिति २१४, अन्य प्रकृतिका संस्था २०७ र संयुक्त उपक्रम ७६ वटा छन्। त्यस्तै, साझेदारी फर्म २०, गैरसरकारी संस्था छ, शाखा कार्यालय चार, परोपकारी संस्था तीन, नाफा वितरण नगर्ने कम्पनी दुई, अस्थायी प्यान दुई र शैक्षिक संस्था एउटा दर्ता भएका छन्।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कार्यालयअन्तर्गत दर्ता भएका करदाताको कुल संख्या एक लाख ३६ हजार ४७२ पुगेको छ। तीमध्ये व्यक्तिगत प्यानतर्फ ९८ हजार २०८ र आयकरतर्फ २९ हजार ८९८ करदाता दर्ता छन्।
त्यस्तै, भ्याटतर्फ छ हजार २७२, अन्तःशुल्कतर्फ एक हजार ४३५ र विथहोल्डिङ प्यानतर्फ ५७४ करदाता दर्ता छन्। शिक्षासम्बन्धी करमा ५१ र स्वास्थ्यसम्बन्धी करमा ३४ करदाता दर्ता रहेको सूचना अधिकारी घलानले बताए ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले आवश्यक कागजात अनलाइन प्रणालीमा प्रविष्ट भएर आएपछि करदाता दर्ताको काम कार्यालयबाट छोटो समयमै सम्पन्न हुने बताए । दर्ता प्रक्रियालाई सरल बनाउँदै करदातालाई सहज रूपमा करको दायरामा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ।



