हेटौँडा | मकवानपुर जिल्ला पशु सेवा कार्यालयले जिल्लाभित्रका सबै स्थानीय तहमा कार्यरत पशु शाखा प्रमुख चिकित्सकहरूको सहभागितामा एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ। जिल्लामा सञ्चालन गर्न लागिएको साप्ताहिक खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले स्थानीयतह सँग सामान्यत्मक अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको कार्यालयले जनाएको छ ।
हेटौँडामा मंगलबार सम्पन्न उक्त गोष्ठीको अध्यक्षता कार्यालयका प्रमुख ब्रज किशोर ठाकुरले गरेका थिए । कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह — हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुरगढी, बकैया, कैलाश, भीमफेदी, राक्सिराङ, बग्मती र इन्द्रसरोवर गाउँपालिकाका पशु शाखा प्रमुखहरू सहभागी थिए।
गोष्ठीमा सहभागी चिकित्सकहरूले आ–आफ्ना स्थानीय तहमा पशु सेवाको कार्यान्वयनमा देखिएका समस्या, हालसम्मको प्रगति, तथा खोप कार्यक्रमसम्बन्धी तयारीका विषयमा जानकारी गराएका थिए। कार्यक्रमका दौरान विभिन्न पालिकामा आवश्यक पर्ने खोपको प्रकार, उपलब्धता, तथा वितरण प्रणालीको सन्दर्भमा पनि छलफल गरिएको थियो।
पशु सेवा कार्यालय मकवानपुरका अनुसार जिल्लामा सञ्चालन गरिने साप्ताहिक खोप अभियानअन्तर्गत गाई, भैंसीमा प्राथमिकताका साथ खोप वितरण गरिनेछ।
प्रमुख ठाकुरले गोष्ठीको समापन गर्दै स्थानीय तहसँगको समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाइने र सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले खोप कार्यक्रमको सफल कार्यान्वयनका लागि समयमै डेटा संकलन, जोखिम क्षेत्रको पहिचान तथा पशुपालकहरूसँगको प्रत्यक्ष सम्वाद अपरिहार्य रहेको उल्लेख गरे ।