हेटौँडा | आइतबार बिहानको वर्षाले अवरुद्ध बनाएको हेटौंडा–ठिङ्गन–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड मर्मतपछि दिउँसोबाट पुनः सञ्चालनमा आएको छ।
ललितपुरको बागमती गाउँपालिकास्थित बागमती खोलामा बनेको डाइभर्सन बाटो बिहान ६:१५ बजे बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सम्बन्धित निकायको प्रयासमा मर्मत कार्य सम्पन्न गरी दिउँसो १२:४५ बजेबाट गाडी आवतजावत सम्भव भएको हो।
हाल सडकखण्डको मर्मत तथा सुधार कार्य भइरहेकाले आगामी जेठ १ गतेसम्म दैनिक बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। सडक विभागले तोकिएको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ।
यसअघि पनि वर्षाका कारण सो क्षेत्रको डाइभर्सन बारम्बार बग्ने गरेको छ, जसले गर्दा यात्रुहरूलाई सास्ती भोग्नु परेको छ।



