फिचरगैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

गैरीगाउँमा बोरिङका कारण जमिन कमजोर हुँदै गयो। भासिएको खाल्डोमा बोलेरो गाडी अझै बेपत्ता जस्तै छ । भूगर्भविद् भन्छन् - खतरा अझै बाँकी छ।

हेटौँडा  | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो गाडी भित्री सडकमा एकाएक जमिन भासियो र गाडी हरायो। ना ४ च ४८३३ नम्बरको बोलेरो भ्यान एकाएक सडकसहित भासिँदा वरपरका मानिसहरू हेरेको हेरेकै भए। गाडीका चालक र सहचालक भने भागेर ज्यान जोगाउन सफल भए।

किन भासियो जमिन?

घटनापछि खानी तथा भूगर्भ विभागको टोलीले दुई दिनसम्म अध्ययन गर्‍यो। अध्ययनको नेतृत्व भूगर्भविद् डा. नारायण अधिकारीले गरेका थिए। उनीसँगै भूगर्भविद् कृष्ण पाण्डे, असिस्टेन्ट जियोलोजिष्ट मणी खनाल र प्राविधिक अमरबहादुर थापा पनि टोलीमा थिए।

टोलीको अध्ययनले यो क्षेत्रको जमिन मुनि सिल्ट (सुक्खा मसिनो माटो) मिसिएको कमजोर माटो रहेको देखायो । यस्तो माटो बलियो हुँदैन, पानीले बगाउँछ। केही वर्षअघि यहाँ बोरिङ गरिएको थियो। त्यही बोरिङबाट धमिलो पानीसँगै सिल्ट बाहिर निस्किरहँदा जमिन भित्र स–साना भ्वाङ बन्न थाले। यी भ्वाङहरू समयसँगै ठूलो बन्दै गए र अन्ततः जमिनको माथिल्लो सतहले तल्लो कमजोर भागलाई धान्न नसक्दा एक्कासि जमिन भासिएको उनीहरुको निष्कर्ष छ । यस्तो भासिएको जमिनलाई ‘सिंकहोल’ भनिन्छ।

गैरीगाउँ पहिल्यैदेखि जोखिमयुक्त क्षेत्र

खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार पारेको नक्सामा पनि गैरीगाउँलाई भूगर्भीय जोखिमयुक्त क्षेत्र भनेर चिनाइएको कुरा पनि घटना पछि मात्रै चर्चा पायो । त्यतिबेला नै सतर्क रहन सुझाव दिइएको थियो भनेर भूगर्भ विभागको टोलीले अध्ययनका क्रममा भनिरहेका थिए ।

तर, उक्त समयको चेतावनीप्रति गम्भीर ध्यान दिइएन। गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि सिँचाइका लागि अनियन्त्रित बोरिङ, पोखरी निर्माण, कुलो विस्तारलगायत संरचनाहरू बनाइँदै आए। ती संरचनाहरूको निर्माणभन्दा पहिले कुनै वैज्ञानिक परीक्षण गरिएको थिएन। स्थानीय समुदायले देखिरहेका थिए —बोरिङ खनिएका ठाउँहरूबाट धमिलो पानी निस्किरहेको छ। तर, कोही सजग भएनन्। यही बेवास्ता अहिले आएर सिंकहोल बन्ने मुख्य कारक बनेको भूगर्भविद्हरु बताउछन्।

भूगर्भविद् कृष्ण पाण्डे भन्छन्, “धेरै वर्षसम्म सिल्ट माटो पानीसँगै निस्कँदा जमिन भित्र भ्वाङहरू पर्छन्। जब ती भ्वाङ ठूलो हुन्छन्, तब जमिन भासिन्छ।”

कति गहिरो छ खाडल?

खानी तथा भूगर्भ विभागको टोलीले म्याग्नेटोमिटर, पावर अगर ड्रिलिङ र भू-उपग्रह तस्बिरहरूसमेत प्रयोग गरी घटनास्थलको गहिराइ, माटोको प्रकृति, भूमिगत जलसतह र गाडीको सम्भावित अवस्थिति पत्ता लगायो ।

टोलीले गरेको परीक्षण अनुसार बोलेरो गाडी भासिएको खाडलको गहिराइ कम्तीमा ११ मिटर छ। खाल्डोको चौडाइ करिब १३ मिटर रहेको उनीहरुको रिपोर्टले देखाको छ । त्यहाँ अहिले पनि बोरिङ भएको ठाउँबाट सिल्ट मिसिएको पानी लगातार निस्किरहेको छ, जसले जमिन अझै पनि भासिन सक्ने भूगर्भविद् कृष्ण पाण्डेले बताए ।

गाडी कहाँ छ त?

खाडलको भित्री भाग परीक्षण गर्न ‘प्रोटोन म्याग्नेटोमिटर’ नामक यन्त्र प्रयोग गरिएको र  त्यसबाट खाल्डोको पूर्वी भागमा करिब ४ मिटर लामो र २ मिटर चौडा भागमा उच्च चुम्बकीय शक्ति देखिएको भूगर्भविद् डा. नारायण अधिकारीले जानकारी दिए । उनले उक्त भाग बोलेरो गाडीको सम्भावित स्थान हुन सक्ने बताउछन्   ।

अधिकारीका अनुसार गाडी ८ मिटर गहिराइमाको आसपासमा हुन् सक्छ । उनि भन्छन्, “पुनः पक्का गर्न ‘पाओर  अगर’ नामको ड्रिलिङ यन्त्रले जमिनभित्र फलामको रड हान्दा करिब ८ मिटर गहिराइमा अबरोध आयो, अर्थात् त्यही आसपासमा गाडी हुन सक्छ।”

किन निकाल्न सकिएको छैन गाडी?

जमिन निकै कमजोर छ। माटो सिल्टयुक्त र खुकुलो छ। त्यहाँ भुँइको सतहभन्दा ५.५ मिटर मुनि नै पानी छ। यदि त्यहाँ एक्साभेटर वा ठूलो मेसिन चलाएर गाडी निकाल्ने प्रयास गरियो भने अझ धेरै जमिन भासिने र झन ठूलो दुर्घटना हुने सम्भावना रहेको भूगर्भविद् कृष्ण पाण्डे बताउछन्।

उनले भने , “पहिला भूगर्भ परीक्षण गरेर मात्रै गाडी निकाल्न मिल्ने हो कि होइन भन्ने निर्णय गर्नुपर्छ।”

उपमहानगरको कदम

हेटौँडा उपमहानगरपालिकाले अहिले उक्त क्षेत्रलाई सिल गरी सुरक्षा सावधानी अपनाएको छ। उपमेयर राजेश बानियाँका अनुसार, जमिन थप भासिन नदिन प्रहरी परिचालन गरिएको छ र कोही पनि नजिक नजान भनिएको छ। “गाडी निकाल्ने प्रयास गर्दा झन ठूलो दुर्घटना हुन सक्ने देखियो,” बानियाँले भने, “त्यसैले विशेषज्ञहरूको रिपोर्ट नआउँदासम्मका लागि उक्त क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।”

गैरीगाउँको यो घटना सामान्य छैन। नेपालमा विकासको नाममा वैज्ञानिक चेतावनीहरूको बेवास्ता गरिँदा त्यसको मूल्य जनताले चुकाउनु पर्छ। गैरीगाउँको भूगर्भीय बनावटबारे विगतमै जानकारी दिइएको भए, भूगोल अनुरूपका निर्माण रणनीति अपनाइएको भए, सायद यो घटना हुँदैन थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img