हेटौंडा | बकैया गाउँपालिका र बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद्को लागत साझेदारीमा सञ्चालित‘असिस्टेन्ट टेलर लेभल १’ सीपमूलक तालिम आइतबार सम्पन्न भएको छ। तालिमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ।
उक्त तालिम फागुन ९ गतेदेखि प्रारम्भ भई निर्धारित तालिम अवधिपछि आज विधिवत रूपमा समापन गरिएको हो। तालिमको उद्देश्य सहभागीहरूलाई सिलाइकटाइसम्बन्धी आधारभूत सीप प्रदान गर्नुका साथै स्वरोजगार तथा आत्मनिर्भरतातर्फ उन्मुख गराउनु रहेको थियो।
समापन समारोहमा प्रमुख अतिथिका रूपमा परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामा, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, परिषद्का अन्य कर्मचारी, प्रशिक्षक, सहायक प्रशिक्षक, कार्यक्रम संयोजक एवं सहायक महिला विकास निरीक्षक होमकुमारी सञ्जेल लगायतको उपस्थिति रहेको थियो।
समारोहमा बोल्ने वक्ताहरूले यस्तो प्रकारको तालिमले ग्रामीण समुदाय विशेषतः महिलाहरूको जीवनस्तर सुधार र आत्मनिर्भरता वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए। अध्यक्ष लामिछानेले स्थानीय सरकारको नेतृत्वमा सीप अभिवृद्धि तालिमहरूलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा सहभागी महिलाहरूले तालिमले आफूहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको र भविष्यमा स्वरोजगारका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे।
परिषद्की प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले सहभागीहरूको सिप परीक्षण तत्काल तालिम केन्द्रमै गरिने जानकारी दिँदै प्रमाणित दक्ष जनशक्ति उत्पादनमा परिषद्को निरन्तर प्रयास रहने बताइन्।



