काठमाडौँ |भिजिट भिसा सेटिङ र मानव तस्करीको आरोपका विषयमा चर्चामा आएका गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध झुटा प्रचार भइरहेको भन्दै स्पष्टीकरण दिएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएपछि ती आरोपबारे मन्त्रालयले समेत मन्त्री लेखकको संलग्नता नरहेको स्पष्ट पारिसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी ठूलो रकम असुलिएको उजुरीमा गृहमन्त्रीदेखि अध्यागमन प्रमुख र मन्त्रीका सचिवालयका सदस्यहरूसम्मको नाम जोडिएको थियो। उजुरी अभियन्ता युवराज सफलद्वारा दर्ता गराइएको हो।
तर गृहमन्त्री लेखकले उक्त उजुरीलाई नियोजित र षड्यन्त्रपूर्ण चरित्रहत्या प्रयासको संज्ञा दिएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “मेराविरुद्ध नियोजित र षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भइरहेको छ। म सबैलाई आग्रह गर्न चाहन्छु — त्रिभुवन विमानस्थलको भिजिट भिसामात्र होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटामात्रै आर्थिक अनियमितता प्रमाणित भयो भने म गृहमन्त्री पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिन तयार छु।”
गृहमन्त्रालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उजुरीमा उल्लेख गरिएझैं मन्त्री लेखकको कुनै संलग्नता नरहेको र हालै मन्त्रालयबाट अध्यागमन सुधार, वैदेशिक यात्रामा निगरानी तथा मानव तस्करी नियन्त्रणका लागि विभिन्न कदम चालिएको स्पष्ट पारेको छ।
गृहमन्त्री लेखकमाथिको आरोप र उनको प्रतिकृया सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भइरहेको छ। कतिपयले यसलाई व्यक्तिविशेष लक्षित बदनाम गर्ने अभियान भनेका छन् भने कतिपयले निष्पक्ष छानबिनको माग गरेका छन्।
सरकारका लागि संवेदनशील मानिएको अध्यागमन क्षेत्र र भिसा व्यवस्थापन प्रणालीमा सुधारको आवश्यकता यस्ता उजुरीहरूमार्फत अझै चर्को रूपमा उठिरहेको छ।