काठमाडौं | काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजावादी समूहको नाममा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि अब त्यो घटनाले कानुनी मोड लिएको छ। सोही घटनामा संलग्न भन्दै ६१ जनालाई प्रतिवादी बनाई काठमाडौं जिल्ला अदालतमा औपचारिकरुपमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सार्वजनिक सम्पत्तिमा क्षति, मानवीय मृत्यु, प्रहरीमाथिको आक्रमण र राज्यविरुद्धका कार्यसमेतको अभियोग लगाउँदै मुद्दा दायर गरेको हो। मुद्दामा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा लगायत ठूला नेताहरूसमेत प्रतिवादीको सूचीमा परेका छन्।
सरकारी वकिल कार्यालयका अनुसार प्रमुख अभियुक्तको रूपमा चिनिएका प्रसाईं, मिश्र र राणासहित ५० जनामाथि “राज्यविरुद्धको कसुर” अन्तर्गत अभियोग लगाइएको छ। नेपाल सरकारविरुद्धको षड्यन्त्र, अस्थिरता निम्त्याउने अभिप्रायले आम जनतालाई उत्तेजित पारेर हिंसा भड्काएको ठहर गर्दै सो आरोप लगाइएको हो।
यससँगै, ११ जना अन्यमाथि भने “आपराधिक उपद्रव” अन्तर्गत मुद्दा दायर गरिएको छ। तीमध्ये ८ जनालाई थप रूपमा “कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग” तथा “संगठित अपराध” अन्तर्गत पनि प्रतिवादी बनाइएको सरकारी वकिलको भनाइ छ। मिश्र र धवल शमशेर राणालाई पनि संगठित अपराधमा समेत मुद्दा चलाइएको छ।
उक्त दिन राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन एक बिन्दुमा पुग्दा पूर्ण रूपमा हिंसात्मक मोडमा गएको थियो। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको मृत्यु भएको पुष्टि भएको छ। घटनाको छानबिनमा खटिएको प्रारम्भिक प्रतिवेदन अनुसार दुवै जनाको मृत्यु भीडबाट भएको आक्रमणका कारण भएको देखिएको छ। मृत्युबाहेक थुप्रै जना घाइते भएका थिए। प्रहरी, सर्वसाधारण तथा पत्रकारहरूमाथि आक्रमण भएको र सार्वजनिक सम्पत्तिमा समेत व्यापक तोडफोड तथा आगजनी गरिएको विवरण उजागर भएको छ।
सरकारी तथा निजी स्रोतको अनुसार तीनकुने क्षेत्रमा आन्दोलनको आवरणमा हिंसात्मक गतिविधि भएका थिए।प्रदर्शनकारीहरूले निजी घर, व्यवसायिक संस्था र सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए। कैयौं निजी सवारीसाधनमा आगो लगाइएको थियो भने सडकमा ढुंगामुढा, टायर बाल्ने जस्ता कार्यहरू भएका थिए। स्थानीय बासिन्दा र व्यवसायीहरूले घटनापछि डर र त्रासका कारण व्यापार बन्द गरेका थिए। घटनापछि सर्वसाधारणमा सुरक्षा निकायप्रति प्रश्न उठेपनि प्रहरीले करिब दुई सय जनालाई तत्काल नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका करिब २ सयमध्ये अधिकांशलाई अनुसन्धानपछि रिहा गरिएको भएपनि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसहित केही अभियुक्तहरू हाल पनि हिरासतमा छन्। उनीहरूमाथि राज्यविरुद्ध गम्भीर आरोपहरू रहेका कारण अनुसन्धान पूरा नभएसम्म थुनामा राखिएको हो। दुर्गा प्रसाईं यसअघि पनि विभिन्न विषयमा विवादित व्यक्तित्व रहँदै आएका छन्। राजनीतिमा सक्रिय भूमिकासमेत खेल्दै आएका उनी राजसंस्थाको समर्थनमा खुलेर उत्रिएका छन्।
उक्त घटनामा प्रतिवादी बनाइएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाले मुद्दा दायर भएपछिका दिनसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। राप्रपाले पनि हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर, पार्टीका आन्तरिक स्रोतहरूले यो मुद्दालाई राजनीतिक पूर्वाग्रहका आधारमा भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार उक्त प्रदर्शन स्वतःस्फूर्त रूपमा जनताले आयोजना गरेको थियो, तर सुरक्षाकर्मीको उत्तेजक व्यवहारका कारण झडप भएको हो।
हाल मुद्दा जिल्ला अदालतमा पुगेपछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढेको छ। दोषी सावित भएमा अभियुक्तहरूलाई लामो समयसम्म कैद, जरिवाना वा दुबै सजाय हुन सक्नेछ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, मानवीय मृत्यु गराउने र संगठित अपराधको आरोपमा मुद्दा लाग्नु गम्भीर विषय हो। राज्यद्वारा यो मुद्दा कसरी अघि बढाइन्छ, अदालतको फैसलाले आगामी दिनमा यस्ता आन्दोलनहरूप्रति कस्तो दृष्टिकोण लिइन्छ भन्ने संकेत दिनेछ।