समाजदुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए...

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

काठमाडौं  | दुर्घटनामा मृत्यु भएका एक युवकका कलेजो र मिर्गौलाले दुई जनालाई नयाँ जीवन दिएको छ।धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकका कलेजो एक ५३ वर्षीय पुरुषमा र मिर्गौला एक पुरुष र एक महिलामा प्रत्यारोपण गरिएको छ। नेपालमा एउटै व्यक्तिका दुई अंग दुई फरक बिरामीमा सफलतापूर्वक प्रत्यारोपण भएको यो पहिलोपटक हो।

केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती युवक गत जेठ १ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। काठमाडौं मेडिकल कलेज (केएमसी) सीनामंगलमा मृत्यु भएपछि परिवारले अंग दानको निर्णय गरे। त्यसै दिन अंग झिकेर प्रत्यारोपण गरिएको हो।

६ घन्टाभित्र कलेजो र ९ घन्टाभित्र मिर्गौला सुरक्षित राख्न सकिने प्राविधिक मापदण्ड अनुसार नै प्रत्यारोपण सफल भएको हो।

प्रत्यारोपणमा डा. श्रेष्ठ नेतृत्वको चिकित्सक टोली खटिएको थियो। कलेजो प्रत्यारोपणका लागि मात्र ३० पोका रगत आवश्यक पर्‍यो, जुन मृतक परिवारले सहयोग गर्‍यो। कानुनी प्रक्रिया छिटो टुंग्याउन प्रहरी प्रशासनले पनि सघायो।

अहिलेसम्म केन्द्रमा १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण भइसकेको छ। यसैक्रममा, प्रत्यारोपणपछि आइसियूमा रहेका दुवै बिरामीले भिडिओमार्फत चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद दिएका छन्। नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान सम्भव भएको कानुनी व्यवस्था भएपछि यस्तो उपचार सम्भव भएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अंग दाताको परिवारलाई २ लाख र अस्पताललाई ७५ हजार दिने घोषणा गरेका छन्।

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्युपछि एक जनाबाट दुई मिर्गौला, दुई फोक्सो, कलेजो, मुटु, प्यान्क्रियाज र सानो आन्द्रा  प्रत्यारोपण गर्न सकिन्छ । तर, अंग दानका लागि परिवारका सबै सदस्यको सहमति अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img