हेटौँडा | चुरे पहाडको काखमा, तीन पवित्र नदीको संगमस्थलमा रहेको त्रिवेणीधाम आन्तरिक धार्मिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। यहाँ हरेक वर्ष एक लाखभन्दा बढी श्रद्धालु तथा पर्यटकको आगमन हुँदै आएको छ।
कर्णावती, रत्नावती र कौशवाही नदीको त्रिवेणी संगममा अवस्थित यो धार्मिक क्षेत्र अहिले हेटौँडाको ‘स्पिरिचुअल हर्टस्पट’ बनेको छ। २०८१ सालमा मात्रै एक लाख दुई हजारभन्दा बढी पर्यटक त्रिवेणीधाममा पुगेको त्रिवेणीधाम विकास समिति अन्तर्गत रहेको कुष्माण्ड सरोवर कार्यालयकी सचिव सरस्वती न्यौपानेले जानकारी दिईन्।
धामको प्रमुख आकर्षण मानिने सिसमहल अवलोकनका लागि मात्रै ४० हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ। तर अझै धेरै संख्या नि:शुल्क रूपमा भित्र प्रवेश गरेर अवलोकन गर्नेहरूको छ।
त्रिवेणीधाममा चाडपर्व, नयाँ वर्ष, र विशेष धार्मिक मेला–जस्तै कुष्माण्ड नवमीमा हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्छ। बारा, पर्सा, रौतहट, पोखरा, चितवन लगायत जिल्लाबाट यहाँ दैनिक चारदेखि छवटा बस पर्यटक लिएर आउँछन्।
विशेषगरी चितवनबाट बढी आगमन हुने गरेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने बताउनुहुन्छ।
त्रिवेणीधाम धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको मिश्रण हो। यहाँ १०८ गौमुखी धारा, शिवालय, यज्ञकुण्ड, नागस्थान, बुद्ध दर्शन स्थल, हेडम्बा नगरीको इतिहास, सङ्ग्रहालय, फूल बगैँचा, र आकर्षक पार्क क्षेत्र समेत छन्।
त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत् खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणहरूमा उल्लेख गरिएको छ। कुष्माण्ड नवमी को दिन यहाँ स्नान गर्ने, कुभिन्डो (फर्सी) दान गर्ने चलन छ।
स्कन्दपुराणको १६औँ अध्याय र महाभारतको ५६औँ श्लोकअनुसार, १०८ धारामा स्नान गर्दा रोग निवारण हुने र कुभिन्डो दानले मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ।
यही धार्मिक विश्वासलाई आधार मानेर यहाँ हरेक वर्ष कुष्माण्ड नवमी मेलाको भव्य आयोजना हुँदै आएको छ। त्रिवेणीधामले आस्था, पर्यटन र संस्कृतिको संगमस्थलको रूपमा हेटौँडाको परिचयलाई अझ उचाइमा पुर्याइरहेको छ।



