हेटौँडा | मकवानपुरको थाहा नगरपालिका–३, पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुवाहक बस आइतबार साँझ विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदै उपमेयर भरत गोपालीको घरमा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा परेका ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव हाल पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
त्यस्तै, झम्केश्वरे माविका शिक्षक रघु नन्दन यादवलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
दुर्घटनापछि प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्दार गरी उपचारका लागि पठाएको थियो।
घाइतेमध्ये कमलेशकुमार साहलाई काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ भने बारा, जितपुर सिमरा–१७ का छेयाङ दोर्जे लामा (३२) र कोल्हवी नगरपालिका–१ का रामगुलाम चौधरी (३०) को पालुङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्की मात्र सवारीमा थिए। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने सबै जना पैदलयात्री भएको जनाइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।