कैलाश (मकवानपुर) | कैलाश गाउँपालिका–३, ४, र ७ नम्बर वडाका ९९ घरधुरीलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको छ। स्वास्थ्य परियोजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट एशोसिएसनको पहलमा सोमबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीहरूलाई चुलो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरण र स्वास्थ्य दुवैका लागि लाभदायक रहेको उल्लेख गर्दै भने, “घरमा रहेका साना बालबालिका र आमाबुवाहरूलाई धुँवाबाट हुने असरबाट जोगाउन यस्तो चुलो उपयोगी हुनेछ। लगेर नराख्नुस्, प्रयोग गर्नुस्।”
उनका अनुसार अहिले केही घरमा एलपी ग्यासको प्रयोग भए पनि धेरैजसो घरहरूमा अझै दाउराको भर परिन्छ। सुधारिएको चुलोले दाउराको खपत कम गर्नुका साथै खाना पकाउँदा हुने धुवाँको समस्या हटाएर स्वास्थ्यमा राहत दिने उनको भनाई छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सांग्रिलाले स्वास्थ्य र शिक्षामा पुर्याउँदै आएको योगदानप्रति आभार व्यक्त गर्दै भने, “सस्थाले जुन भावना र प्रतिबद्धतासाथ काम गरिरहेको छ, गाउँपालिकाले सधैं साथ दिनेछ।”
सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतका अनुसार ३ वडाका घरधुरीहरूको सर्वेक्षणपछि केन्द्रीय कार्यालयको सिफारिसमा ९९ घरलाई प्राथमिकतामा राखी चुलो वितरण गरिएको हो। “हामीले पाँच जना प्राविधिकलाई तालिम दिएर चुलो जडानको काम गरिरहेका छौं,” राउतले बताए। “यी चुलोहरूले दाउराको खपत घटाउने, घरभित्रको वायुप्रदूषण कम गर्ने र स्वास्थ्यमैत्री वातावरण बनाउन सहयोग गर्नेछन्।”
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष देवलाल बल, वडा नं. ४ का वडा सदस्य नमराज चेपाङ, र कटुञ्जे स्वास्थ्य चौकी प्रमुख आशाकुमारी गुरुङलगायतको उपस्थिति रहेको थियो।
राउतले लाभग्राहीहरूलाई चुलो नियमित रूपमा प्रयोग गर्न आग्रह गर्दै यस्ता प्रविधिको प्रभावकारिता स्थानीयस्तरमै देखिने विश्वास व्यक्त गरे। सांग्रिला डेभलपमेन्ट एशोसिएसनले गाउँपालिकासँग सहकार्य गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ।