समाजहेटौँडामा सञ्चार क्षेत्रमा प्रविधिको प्रभावबारे कार्यशाला सम्पन्न, एआई र सकारात्मक पत्रकारितामाथि चर्चा

हेटौँडामा सञ्चार क्षेत्रमा प्रविधिको प्रभावबारे कार्यशाला सम्पन्न, एआई र सकारात्मक पत्रकारितामाथि चर्चा

हेटौँडा |  सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसरबारे हेटौंडामा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबार गोष्ठी सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गरेकी थिइन्। आफ्नो मन्तव्यमा उनले अहिलेको समाजमा मानवता हराउँदै गएको गुनासो गर्दै, देश र संविधानप्रति जनमानसको दृष्टिकोण नकारात्मक बन्दै गएकाले व्यवस्थाको असफलताको जोखिम बढेको टिप्पणी गरिन्।

“हामीले सकारात्मकता बिर्सेर नकारात्मकतामै अल्झिन थालेका छौं। पत्रकारिता समेत नकारात्मक विषयको पछि लाग्ने प्रवृत्तिमा छ, जुन चिन्ताजनक हो,” उनले भनिन्।

मेयर लामाले सञ्चारकर्मीहरूलाई जनप्रतिनिधिको भिजन र योजनालाई आम जनतासम्म पुर्‍याउने पुल बन्न आग्रह गरिन्। “हीनता, डर र त्रासका बीच चल्ने नेतृत्वले समाज बदल्न सक्दैन,” उनले थपिन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारिता सुरक्षित ढंगले गर्न सकिने वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताए। “तीनै तहका सरकारहरू प्रेसमाथि नियन्त्रण गर्ने नियतले कानुन बनाउने प्रयासमा छन्,” उनले चेतावनी दिए।

बागमती प्रदेश पत्रकार महासंघका अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत पत्रकारितामा चुनौती बढेको उल्लेख गरे। “अब डिजिटल ट्रेन्डसँग मेल खाने पत्रकारिता आवश्यक छ,” उनको भनाइ थियो।

सञ्चार रजिस्ट्रार रेवती सापकोटाले ‘रचनात्मक पत्रकारिता, एआई र प्रविधिका अवसर–चुनौती’ विषयमा विशेष प्रस्तुती दिएका थिए। उनले पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को भूमिकासम्बन्धी विविध पक्षबारे जानकारी गराए।

त्यसैगरी महासचिव दाहालले ‘पत्रकार आचारसंहिता’ र ‘विपद् पत्रकारिता’ सम्बन्धी तालिम समेत प्रदान गरे।

कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, सल्लाहकार अञ्जली थापा, पूर्व अध्यक्षहरू तथा विभिन्न सञ्चार संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img