हेटौँडा | हेटौँडा उपमहानगरपालिका–५ शीतलमहल चोकस्थित ‘द नाइन्टिन सैलुन’ले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रमका ३५ जना आश्रितलाई निःशुल्क सैलुन सेवा प्रदान गरेको छ।
हेटौँडास्थित मानवसेवा आश्रमको मुख्य कार्यालयमा आश्रय लिई बसिरहेका बृद्ध, अशक्त, मानसिक तथा शारीरिक रूपमा असहाय नागरिकहरूका लागि द नाइन्टिन सैलुनको टिमले कपाल र दारी सिङ्गार्ने सेवा दिएको हो।
सैलुन टिमले व्यक्तिगत रूपमा सेवा प्रदान गर्दै आश्रितहरूको स्वरूपमा परिवर्तन ल्याउनुका साथै उनीहरूमा आत्मबल, आत्मगौरव र खुसीको भावना जागृत गरेको आश्रमले जनाएको छ।
द नाइन्टिन सैलुनका सञ्चालक सुसान लामा र उनको टिमले उक्त सेवामूलक कार्यमा सक्रिय भूमिका निभाएका हुन्। सैलुनका लामाका अनुसार उनीहरू प्रत्येक हप्ता सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म विभिन्न ठाउँमा पुगेर निःशुल्क सैलुन सेवा दिने गर्छन्। “यो कार्यमा सहभागी भएर असहाय व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा हामीलाई आत्मसन्तुष्टि मिलेको छ,” उनले बताए।
स्थानीय स्तरमा सैलुन व्यवसायीहरूबाट आएको यस्तो मानवीय सहयोगलाई समुदायले सकारात्मक सन्देशका रूपमा लिएको छ।