हेटौँडा | हेटौँडा–१६ स्थित गौरिटार रंगशालाको गोठबाट जुवा खेल्दै गरेका पाँच जना व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मंगलबार दिउँसो १:४५ बजे छापा मारेर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय दामोदर चौलागाई, हेटौँडाका २९ वर्षीय विश्व स्याङ्तान, सुदीप पोख्रेल, प्रदीप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्। गोठलाई जुवा खेल्ने अड्डा बनाइएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ७ बुक तास, नगद ८१ हजार ३ सय ९० रुपैयाँ र गोट्टीसहितको काठको लुडो बरामद गरेको छ। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।