बकैया | मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयबासीले विभिन्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन्।
छलफलको केन्द्रबिन्दु भने अभिभावकविहीन बालबालिकालाई लक्षित गर्दै स्थायी रूपमा आवासीय विद्यालय स्थापना गर्नु पर्ने माग बन्यो। स्थानीयले गाउँमा विद्यालय जाने उमेरका तर अभिभावकविहीन र असुरक्षित अवस्थामा रहेका बालबालिकाको संख्या बढ्दै गएको भन्दै शिक्षा पहुँचलाई सुनिश्चित गर्न आवासीय विद्यालयको आवश्यकता औंल्याए। साथै, एसईई पछि गाउँबाट विद्यार्थी पलायन हुने समस्यालाई रोक्न पनि यस्ता विद्यालयहरूले भूमिका खेल्ने उनीहरूको तर्क थियो।
कार्यक्रममा सहभागीले केवल शिक्षामै होइन, उत्पादन, पूर्वाधार, पर्यटन प्रवर्द्धन र विपद् व्यवस्थापनको विषयमा समेत गम्भीर सुझाव राखेका थिए। उनीहरूले स्थानीय उत्पादनको दिगोपना सुनिश्चित गर्न कृषिमा लगानी बढाउनु पर्ने, एक स्थानीय तहबाट अर्को तह वा जिल्ला जोड्ने सडकहरूमा विशेष प्राथमिकता दिई बजेट विनियोजन गर्नु पर्ने, नदी र खोलानालाको दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना आवश्यक रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनमार्फत आन्तरिक राजस्व वृद्धिको मागसमेत राखे। साथै, विगतमा थुप्रिएका योजनाको समीक्षा गरेर मात्रै आगामी वर्षका लागि योजना छनोट गर्नुपर्ने र संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयमार्फत विपद् व्यवस्थापन प्रणाली बलियो बनाउनुपर्ने धारणा पनि अघि सारिएको थियो।
अन्तरक्रिया कार्यक्रममै गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले आवासीय विद्यालयको माग प्रति सहमति जनाउँदै भने, “गाउँपालिकाको स्रोत मात्रले त्यो सम्भव छैन, तर हामी संघ र प्रदेश सरकारसँग समन्वय गरेर समाधानको बाटो खोज्दै छौं।” उनले गीताबर आधारभूत विद्यालयमा विभिन्न संस्थाहरूको सहयोगमा सञ्चालनमा ल्याइएको आवासीय विद्यालयको उदाहरण दिँदै यसको व्यवस्थापनमा देखिएको चुनौतीलाई स्वीकारे।
अध्यक्ष लामिछानेले बजेट तर्जुमाको सन्दर्भमा सरकारको अघिल्लो अभ्यासप्रति आत्मालोचना गर्दै योजना धेरै बनाएर आधा मात्र कार्यान्वयन हुने विगतको प्रवृत्तिलाई अब अन्त्य गरिनुपर्ने बताए। उनका अनुसार आगामी वर्षको बजेट आवश्यकता, प्राथमिकता र उत्पादनसँग जोडिएको हुनु आवश्यक छ, र त्यसका लागि सबै वडाहरूमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए।
उनको भनाइमा, “अहिले हामी संख्यामा होइन, प्रभावमा विश्वास गर्ने बाटोमा छौं। कम योजना भए पनि ती व्यवहारिक र कार्यान्वयन योग्य होस् भन्ने हाम्रो सोच हो।” स्थानीय सहभागिता र सुझाबलाई प्राथमिकता दिने यो प्रयासले बकैया गाउँपालिकाको नीति तथा कार्यक्रम जनउत्तरदायी बन्ने संकेत गरेको छ।