हेटौँडा | हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ।
पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरिएको हो।
आइतबार जारी विज्ञप्तिमा म्यानेजमेन्टले सीमित संख्यामा विद्यार्थी भर्ना गरी शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषयहरू पढाइने जानकारी दिएको छ। साथै, अध्ययनसँगै विद्यार्थीलाई शिक्षण अभ्यास गर्ने अवसरसमेत प्रदान गरिनेछ जसले व्यवहारिक दक्षता र शिक्षण क्षेत्रमा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
२०५२ सालमा स्थापना भएको हेटौँडा स्कूल अफ म्यानेजमेन्टले हाल कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकायमा पठनपाठन गर्दै आएको छ। साथै स्नातक तहमा बीआइएम, बीसीए र बीबीएस विषयहरूमा समेत शिक्षा प्रदान गर्दै आएको छ।
अघिल्लो समय मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थीको आकर्षण कम भएका कारण ती विषय हटाइएका थिए भने अहिले दक्ष शिक्षक अभावको कारण शिक्षाशास्त्र संकायमा निशुल्क पठनपाठनको अवसर प्रदान गर्न लागिएको हो।