Friday, July 18, 2025
मकवानपुरइन्द्रसरोवर गाउँपालिकामकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

मकवानपुरको एसईई समग्रमा सुधारको संकेत, तर ७ विद्यालयको नतिजा शून्य!

spot_img

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएसँगै मकवानपुरको शिक्षा प्रणालीको वर्तमान अवस्था फेरि एकपटक सार्वजनिक चासोको विषय बनेको छ। यस वर्ष (२०८१)को  नतिजाले केही हदसम्म सुधार देखाए पनि समग्र अवस्था अझै सन्तोषजनक छैन।

जिल्ला भरका १० स्थानीय तहबाट ५ हजार ८ सय २२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ हजार ७६२ जना उत्तीर्ण भए भने ३ हजार ५७ जना अनुत्तीर्ण भएका छन्। यस वर्ष जिल्लामा ६ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने ७ विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्  ।

- Advertisement -

मकवानपुर जिल्लाका १० वटा स्थानीय तहको २०८० र २०८१ सालको एसईई नतिजाको पालिकागत उत्तीर्ण प्रतिशतका आधारमा तुलना गर्दा समग्र रूपमा उल्लेखनीय सुधार देखिए पनि समग्रमा सामुदायिक विद्यालयको प्रदर्शन अझै कमजोर देखिन्छ। गत वर्ष जिल्लाबाट ५ हजार ९२५ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये २ हजार ६१ मात्र उत्तीर्ण भएका थिए । उत्तीर्ण प्रतिशत ३६.५ मात्र थियो, जुन दर यो वर्ष बढेर ४७.४ मा पुगेको छ।

जसमा हेटौँडा उपमहानगरपालिकाले ५४.५ प्रतिशतबाट ६१.८ प्रतिशतमा नतिजा सुधार गर्दै अग्रता लिएको छ, जुन स्थानीय तहहरूबीच सकारात्मक उदाहरण बन्न सक्छ। त्यस्तै, थाहा २७.५ प्रतिशतबाट ४४.३ प्रतिशतमा, मकवानपुरगढी १५.३ प्रतिशतबाट ४३.७ प्रतिशतमा र मनहरी २३.९ प्रतिशतबाट ३३.१ प्रतिशतमा पुगेका छन् । यी पालिकाहरूले समेत उल्लेखनीय सुधार देखाएका छन्।

तर, राक्सिराङ गाउँपालिकाको नतिजा ९.८ प्रतिशतबाट घटेर ६.५ प्रतिशतमा झरेको तथ्यले शिक्षा क्षेत्रमा अझै गहिरो चुनौती विद्यमान रहेको देखाउँछ। त्यस्तै, बकैया, भिमफेदी, बागमती र कैलाश गाउँपालिकाको सुधार दर न्यून रहेकाको देखिन्छ ।

हेटौँडा उपमहानगरपालिकाबाट ३ हजार ३ सय ११ विद्यार्थी परीक्षामा सहभागी हुँदा २ हजार ४५ जना उत्तीर्ण भएका छन्। अघिल्लो वर्ष ३ हजार १४० सहभागीमध्ये १ हजार ७१२ जनाले मात्र सफलता पाएका थिए। यस पटक केही सुधार देखिए पनि एक तिहाइ विद्यार्थी अझै अनुत्तीर्ण छन्।  उपमहानगरपालिकाबाट सहभागी विद्यालयहरूको समग्र प्रदर्शन केही सन्तोषजनक देखिएको छ। उपमहानगर क्षेत्रका कुनै पनि विद्यालयको नतिजा शून्यमा नरह्नु र केही विद्यालयहरूले शतप्रतिशत सफलता हासिल गर्नु सकारात्मक पक्ष हो। विशेषतः हेटौँडास्थित बाल जागृती इङ्लिस बोर्डिङ मावि, सुनगाभा इङ्लिस बोर्डिङ स्कूल मावि, जेम्स बोर्डिङ स्कूल र मकवानपुर बाल विद्या सदनले यस वर्ष शतप्रतिशत नतिजा दिँदै आफ्नो शैक्षिक स्तर प्रमाणित गरेका छन्।

सामुदायिक विद्यालयहरूमध्ये शारदाको मात्रै शतप्रतिशत नतिजा

यस वर्ष मकवानपुरगढी गाउँपालिकाको एसईई नतिजा केही हदसम्म सन्तोषजनक देखिएको छ। कुल २१३ जना विद्यार्थी सहभागीमध्ये ९३ जना उत्तीर्ण भएका छन् भने १२० जना अनुत्तीर्ण भएका छन्। यद्यपि, झण्डै ५६ प्रतिशत विद्यार्थीले परीक्षा उत्तीर्ण गर्न नसक्नुले गाउँपालिकामा अझै शैक्षिक गुणस्तर सुधारको खाँचो देखिएको छ। गत वर्ष यहाँबाट ३०० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ४६ जना मात्र उत्तीर्ण भएका थिए भने २५४ जना अनुत्तीर्ण भएका थिए। सो वर्षको उत्तीर्ण दर १५.३ प्रतिशत मात्र थियो।

यस वर्षको एक उल्लेखनीय पक्ष भनेको मकवानपुरगढी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा हो। उक्त विद्यालयले सहभागी गराएका सबै विद्यार्थीलाई सफल बनाउँदै १०० प्रतिशत नतिजा हासिल गरेको छ। यो विद्यालय यस वर्ष जिल्लाकै एक मात्र सामुदायिक विद्यालय हो, जसले शतप्रतिशत सफलता हासिल गर्न सफल भएको छ। गत वर्ष भने गाउँपालिकाकै एक सामुदायिक विद्यालयबाट सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए।

थाहा नगरपालिकाबाट यस वर्ष ४९९ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये २२१ जना मात्र उत्तीर्ण हुन सके। अघिल्लो वर्ष ५३९ सहभागीमध्ये १४८ जनाले मात्र सफलता पाएका थिए। परीक्षाफलमा तुलनात्मक सुधार देखिए पनि शिक्षा क्षेत्रको संकट भने कायमै छ।   थाहा -१ मा रहेको पालुङ मोडर्न इङ्लिस माविले भने यस वर्ष सहभागी ४ जना विद्यार्थीलाई सफल गराउँदै १०० प्रतिशत नतिजा निकालेको छ भने थाहा–७ मा रहेको सुन्दरीदेवी माध्यमिक विद्यालयबाट परीक्षा दिएका १९ विद्यार्थीमध्ये एक जनाले पनि सफलता हासिल गर्न सकेन ।

बकैया गाउँपालिकाबाट यस वर्ष ४११ विद्यार्थी सहभागी हुँदा ७४ जनाले मात्र सफलता प्राप्त गरेका छन् भने ३३७ जना अनुत्तीर्ण भएका छन्। अघिल्लो वर्ष मात्र ४६ विद्यार्थी उत्तीर्ण भएका थिए, जसको तुलनामा यसपालि सुधार देखिए पनि समग्र नतिजा अझै निराशाजनक छ। बकैया–२ स्थित कालिका माध्यमिक विद्यालय र बकैया–१० स्थित प्रसिद्ध माध्यमिक विद्यालयबाट सहभागी भएका सबै विद्यार्थी अनुत्तीर्ण भएपछि यस पालिकाको शिक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।

राक्सिराङ गाउँपालिकाका विद्यालयहरूबाट प्राप्त नतिजा झनै निराशाजनक छ। कालिका माध्यमिक विद्यालय, प्रजा जागृति माध्यमिक विद्यालय र देवीटार माध्यमिक विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये एक जनाले पनि परीक्षा पास गर्न नसक्नुले राक्सिराङमा शैक्षिक संकट झन् गहिरो भएको संकेत गर्छ। पालिकाभरि १८६ विद्यार्थी सहभागी भएका थिए, तर उत्तीर्ण संख्या केवल १२ मा सीमित रहनु गम्भीर चिन्ताको विषय हो।

त्यसैगरी, मनहरी गाउँपालिकाको अवस्था पनि सकारात्मक छैन। यस पालिकाबाट ४२९ विद्यार्थी सहभागी भए, तर १४२ जनामात्र उत्तीर्ण हुन सके। सीता माध्यमिक विद्यालयबाट सहभागी भएका २० जनामध्ये एक जनाले पनि परीक्षा पास गर्न नसक्नुले यहाँको शैक्षिक अवस्था झनै दयनीय देखिएको छ।

भिमफेदी र बागमती गाउँपालिकामा पनि समान चुनौती देखिएको छ। भिमफेदीमा १९७ जनामध्ये ४६ जना मात्र पास भएका छन् भने बागमतीमा २७७ मध्ये ४६ जनाले मात्र सफलता पाएका छन्। यी दुबै पालिकामा पनि अनुत्तीर्ण विद्यार्थीको संख्या तीन चौथाइभन्दा बढी रहेको देखिन्छ।

मकवानपुर जिल्लाको यस वर्षको एसईई नतिजाले शैक्षिक क्षेत्रको अवस्था स्पष्ट रूपमा झल्काएको छ। केही निजी विद्यालयले उत्कृष्ट प्रदर्शन गरे पनि अधिकांश सामुदायिक विद्यालयहरू अझै पनि गम्भीर संकटमा छन्। धेरैजसो पालिकामा अनुत्तीर्ण दर ५०% भन्दा माथि हुनु, केही विद्यालयमा शून्य नतिजा आउनु र सामुदायिक विद्यालयहरूको अवस्था विग्रनुले आधारभूत सुधार आवश्यक रहेको देखाउँछ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img