हेटौँडा | नेपालमा गएको दुई महिनामा मनसुनजन्य विपद्का ६ सयभन्दा बढी घटना भएका छन्। ती घटनाले ३१ जनाको ज्यान लिएको छ भने सयभन्दा बढी घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, जेठ १५ देखि असार १६ सम्मको अवधिमा देशभर ६७४ वटा प्राकृतिक विपद्का घटना भएका हुन्।
त्यसमध्ये सबैभन्दा बढी पहिरोका ८७ घटना भएको र त्यसमा २५ घर आंशिक तथा ११ घर पूर्णरूपमा क्षतिग्रस्त भएको उल्लेख गरिएको छ। पहिरोबाट करिब रु २ करोड २१ लाख बराबरको क्षति भएको बताइएको छ।
बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको र १२३ परिवार प्रभावित भएको जनाइएको छ। चट्याङका ८२ घटनामा आठ जनाको ज्यान गएको र २० जना घाइते भएका छन् भने हुरीका ४५ घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
यी सबै घटनाबाट करिब २६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणको भनाइ छ।
नेपालमा मनसुन सुरु भएसँगै पहाडी तथा तराई क्षेत्रका विभिन्न ठाउँमा हरेक वर्ष प्राकृतिक प्रकोपका घटना हुने गरेका छन्। प्राधिकरणले सतर्कता अपनाउन स्थानीय तह र नागरिकहरूलाई अनुरोध गर्दै आएको छ।