हेटौँडा | अमेरिकाको लुइसियानामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। आइतबार राति करिब ९ बजे लुइसियाना राज्यको राजमार्ग ८० मा भएको दुर्घटनामा लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई जना नेपालीले ज्यान गुमाएका हुन्।
लुइसियाना स्टेट पुलिसले जारी गरेको विज्ञप्तिअनुसार मृतकमध्ये २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। दुवैजना नेपाली विद्यार्थी युनिभर्सिटीको विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाडी यादवले चलाइरहेका थिए। दुर्घटनाको समयमा भारी वर्षा भइरहेको र गाडी सडकको दायाँपट्टि गएर रूखमा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ। यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो।
सोही कारमा सवार अन्य दुई व्यक्तिलाई उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने हालसम्म खुलाइएको छैन।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि लुइसियाना टेक युनिभर्सिटीले पनि विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। ‘हामीले एक दुखद कार दुर्घटनामा दुई अन्तर्राष्ट्रिय विद्यार्थी गुमाएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पूरा लुइसियाना परिवार उनीहरूको निधनले शोकाकुल छ। थप दुई विद्यार्थी गम्भीर घाइते छन् र उपचाररत छन्।’



