समाजहेटौँडामा शनिबार आठौँ कोरा साइकल र्‍याली, ३ सय बढीको सहभागिता हुने

हेटौँडामा शनिबार आठौँ कोरा साइकल र्‍याली, ३ सय बढीको सहभागिता हुने

हेटौँडा | हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्‍याली यही शनिबार आयोजना हुने भएको छ। सन् २०१८ देखि नियमित रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले यसपटक पनि ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ विनर’ भन्ने नारासहित र्‍याली गर्न लागेको हो।

क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार र्‍यालीको सम्पूर्ण तयारी पूरा भएको छ। उनका अनुसार र्‍यालीले हेटौँडालाई साइकलमैत्री सहर बनाउन र स्वच्छ वातावरणको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

र्‍यालीमा १२ वर्षभन्दा माथिका साइकलप्रेमी सहभागी हुन पाउनेछन्। हालसम्म २५० जनाले नाम दर्ता गराइसकेका छन् भने चितवन, बारा, पर्सा र काठमाडौंसहित विभिन्न जिल्लाबाट करिब ३ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्लबले जनाएको छ।

र्‍याली हेटौँडा–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर परिसरबाट शनिबार बिहान ७ बजे सुरु हुनेछ। सहभागीहरूले विभिन्न धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गरी बुद्धचोकमा पुगेर र्‍याली समाप्त हुनेछ।

र्‍यालीमा सहभागी हुन इच्छुकले तीन सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन्। सहभागी सबैलाई आयोजकले निःशुल्क जर्सीसमेत उपलब्ध गराउने जानकारी दिएको छ।

हाल हेटौँडा राइडर्स क्लबमा करिब ५ सय सदस्य आवद्ध छन् भने मकवानपुरमा करिब ६ हजार साइकल राइडर सक्रिय रहेको क्लबको दाबी छ। क्लबले दीर्घकालमा हेटौँडालाई पूर्ण रूपमा साइकलमैत्री सहरको रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img