हेटौँडा | नेपालमा अहिले मनसुनको सक्रिय प्रभाव जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर हाल मनसुनी वायुले प्रभाव जमाएको छ भने न्यून चापीय रेखा पनि सरदर स्थानमा अवस्थित रहेको छ।
महाशाखाले दिएको पछिल्लो विवरणअनुसार, कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिनभर देशभर सामान्य बदली रहनेछ भने गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि गण्डकीसहित देशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसम विभागले देशका अधिकांश भूभागमा सम्भावित मध्यमदेखि भारी वर्षाको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी किनार, पहिरो सम्भावित क्षेत्र र संवेदनशील भूभागमा विशेष सावधानी अपनाउन भनिएको छ।



