हेटौंडा। गैरसरकारी संस्था महासंघ नेपाल (गैसस) मकवानपुर जिल्ला शाखाले ११औं अधिवेशनबाट निर्वाचित गैसस नेपालका केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई बधाई र शुभकामना दिने कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला शाखाकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई प्रमुख अतिथि थिए। कार्यक्रममा केन्द्रीय महासचिव देवी खड्का, बागमती प्रदेश इन्चार्ज पहलमा श्रेष्ठ, प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा लगायत केन्द्रीय, प्रदेश र जिल्ला तहका पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई फूलमाला र ताम्रपत्र प्रदान गर्दै बधाई र शुभकामना दिइएको थियो।
प्रमुख अतिथि भट्टराईले गैसस महासंघको आगामी कार्ययोजना, संस्थालाई अझ सुदृढ र प्रभावकारी रूपमा अघि बढाउने उपायहरूबारे आफ्ना विचार प्रस्तुत गरे। उनले समसामयिक सामाजिक विषयहरूमा पनि आफ्नो धारणा राखे।



