विज्ञान/प्रविधिराइड शेयरिङमा यात्रा गर्न पठाओ सस्तो कि टुटल ?

राइड शेयरिङमा यात्रा गर्न पठाओ सस्तो कि टुटल ?

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा राइड शेयरिङ सेवाहरू निकै लोकप्रिय हुन थालेका छन् । यद्यपि राइड शेयरिङ कम्पनीहरू थुप्रै भए पनि धेरै प्रयोग हुनेमा पठाओ र टुटल नै अगाडि छन् ।

पछिल्लो समय पठाओले रुट लम्ब्याएर तथा सर्ज चार्जको नाममा महँगो भाडा उठाउन थालेको भन्दै आलोचना पनि हुन थालेको छ । आज हामी मुख्य दुई राइड शेयरिङमा कसको भाडा सस्तो भन्ने विषयमा तुलना गरेर हेर्दै छौँ ।दुवै कम्पनीको एपमा मोटरसाइकल र ट्याक्सी दुवै सुविधा उपलब्ध छन् । पठाओमा तपाईंले बीमा सुविधा प्राप्त गर्न सक्नुहुन्छ भने टुटलको बाइक राइडका लागि फोनपेको नेटवर्कमा भुक्तानी गर्दा  १० रुपैयाँ छुट पाउन सक्नुहुन्छ ।

यस्ता अतिरिक्त किसिमका सुविधा बाहेक हामीले २६ मङ्सिरको बेलुकी सात बजे पछाडि विभिन्न पाँच रुटमा लाग्ने शुल्कलाई यहाँ तुलना गरेर विश्लेषण गरेका छौँ ।विभिन्न पाँच रुटमा लाग्ने शुल्क दाँजेर हेर्दा मोटरसाइकलको सन्दर्भमा पठाओभन्दा टुटल नौदेखि करिब ३२ प्रतिशतसम्म सस्तो रहेको पाइयो । टुटलले राइडरहरूबाट लिने कमिसन कम गरी यात्रुहरूलाई सस्तो सेवा दिने रणनीति अपनाएको देखिन्छ भने पठाओले राइडर र यात्रु दुवैलाई आकर्षित गर्ने नयाँ नयाँ स्किम तथा फिचर ल्याउने गरेको छ ।

ट्याक्सीको कुरा गर्ने हो भने दुवै प्लेटफर्मको दर रेट करिब उस्ता उस्तै देखिन्छ । ट्याक्सी अर्डर गर्दा कुनै रुटमा टुटल सस्तो छ भने कुनैमा पठाओ । हामीले दाँजेका पाँच ओटा रुटमध्ये दुई रुटमा टुटल र दुई रुटमा पठाओ सस्तो देखिन्छ भने एउटा रुटमा दुवैको भाडा समान छ ।

रुट नम्बर १ः भृकुटीमण्डपदेखि कलंकी

भृकुटीमण्डप गेटबाट कलंकी चोकसम्म पठाओको बाइकमा यात्रा गर्दा १५६ रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ट्याक्सीका लागि ३६६ रुपैयाँ शुल्क लाग्ने गरेको पाइयो । तर त्यही रुटमा टुटलको बाइकमा १२७ रुपैयाँ (फोनपे बाट भुक्तानी गर्दा ११७ रुपैयाँ) र ट्याक्सीका लागि ३७५ रुपैयाँ लाग्ने देखियो ।यसरी हेर्दा पठाओको बाइक भन्दा टुटलको बाइकमा यात्रा गर्दा २९ रुपैयाँ (करिब १९ प्रतिशत) सस्तो पर्न जान्छ भने ट्याक्सीमा पठाओ नौ रुपैयाँ (करिब अढाई प्रतिशत) सस्तो छ ।

रुट नम्बर २ः माइतिघरदेखि बुढानीलकण्ठ

अर्को रुटका लागि हामीले माइतिघर चोकदेखि बुढानीलकण्ठ मन्दिर अघिको चोकलाई आधार मानेका छौँ । यो रुटमा पठाओको मोटरसाइकलमा ३२२ रुपैयाँ र टुटलको बाइकमा २२१ रुपैयाँ भाडा देखिन्छ । जसमा टुटल पठाओभन्दा १०१ रुपैयाँ (३१.३७ प्रतिशत) सस्तो छ ।यसैगरी यही रुटमा ट्याक्सी अर्डर गर्दा पठाओमा ६९९ रुपैयाँ लाग्ने देखिन्छ भने टुटलमा ६०१ रुपैयाँ मात्र छ । यसरी हेर्दा पठाओको ट्याक्सीभन्दा टुटलको ट्याक्सी ९८ रुपैयाँ (१४ प्रतिशतभन्दा बढी) सस्तो देखिन्छ ।

रुट नम्बर ३ः बानेश्वरदेखि सातदोबाटो

रुट नम्बर तीनमा हामीले बानेश्वर चोकदेखि सातदोबाटो चोकसम्मलाई आधार बनाएका छौँ । जसमा बाइकमार्फत यात्रा गर्दा पठाओमा १५० रुपैयाँ र टुटलमा ११९ रुपैयाँ लाग्ने देखिन्छ ।यसअनुसार पठाओभन्दा टुटलमा ३१ रुपैयाँ (करिब २१ प्रतिशत) सस्तो पर्छ । यही रुटमा ट्याक्सी अर्डर गर्दा भने पठाओ र टुटलको भाडा समान ३५१ रुपैयाँ देखिन्छ ।

रुट नम्बर ४ः कीर्तिपुरदेखि रत्नपार्क

अर्को रुटका लागि हामीले कीर्तिपुर रिङरोड चोकदेखि रत्नपार्कको बस स्टेसन सम्मको दूरीलाई आधार बनाएका छौँ । यो रुटमा यात्रा गर्दा पठाओमा १५४ रुपैयाँ र टुटलमा १४० रुपैयाँ लाग्ने देखिन्छ ।

यसरी हेर्दा पठाओभन्दा टुटल १४ रुपैयाँ (नौ प्रतिशत भन्दा बढी) सस्तो छ । त्यस्तै यही रुटमा ट्याक्सी अर्डर गर्दा पठाओभन्दा टुटल नै सस्तो छ । यसका लागि पठाओमा ४२७ रुपैयाँ लाग्छ भने टुटलमा ४०५ रुपैयाँ देखिन्छ । जुन २२ रुपैयाँ अर्थात पाँच प्रतिशतभन्दा बढी सस्तो हो ।

रुट नम्बर ५ः जाउलाखेलदेखि गठ्ठाघर

अन्तिम अर्थात पाँचौ रुटका लागि हामीले ललितपुरको जावलाखेल चोकदेखि भक्तपुरको गठ्ठाघरसम्मको दूरीलाई आधार मानेका छौँ । यो रुटमा बाइक मार्फत यात्रा गर्दा पठाओमा १६८ रुपैयाँ र टुटलमा १५१ रुपैयाँ लाग्ने देखिन्छ । यसमा पठाओभन्दा टुटल १७ रुपैयाँ (१० प्रतिशतभन्दा बढी) सस्तो छ ।यही रुटमा ट्याक्सीको कुरा गर्ने हो भने पठाओ टुटलभन्दा सस्तो रहेको देखिन्छ । यसमा पठाओको ट्याक्सीमा ४०४ रुपैयाँ लाग्ने देखिन्छ भने टुटलमा ४२७ रुपैयाँ छ । जुन २३ रुपैयाँ (पाँच प्रतिशतभन्दा बढी) सस्तो हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img