काठमाडौं : सरकारले उपत्यकामा बुधबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो ।
यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ । सरकारले यस खोपलाई पूर्ण रूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्यन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।
यो पनि : कोभिडको अर्को आँधी सामनाका लागि तयार हुन युरोपलाई डब्लूएचओको चेतावनी
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली त’हस न’हस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।
‘अब छिट्टै कोभिडको अर्को आँधी आउँदैछ । केही साताभित्रै ओमिक्रोन सम्पूर्ण देशभर फैलिन्छ , जसका कारण विभिन्न देशको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुनेछ ।,’ क्लुगले भने ।
युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा उनको चेतावनी आएको हो । जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ । यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो ।
पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।