काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् ।
पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनलाई उद्घाटन गर्दै महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचालन गर्ने बताए ।
‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ । नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’ उनले भने, ‘म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन सकेन त्यसपछि हामीले सरकारको जिम्मा लिएको हौँ।
नेपाली काँग्रेसले तत्कालीन नेकपाको सरकार नढलोस् भन्ने चाहँदा चाहँदै पनि उनीहरुले सरकार चलाउन नसकेको जिकिर गरे ।
उनले भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो । ५ वर्ष सरकार चलाउने जिम्मा लिएको थियो । तर नेकपाले चलाउन सकेन । उसले आफ्नै घरमा आगो लगायो।’
महामन्त्री थापाले ती आगो लगाउनेहरूमध्ये एकथरीले खरानी धसेर देखाइदिने हो भन्दै बाहिर आएको र अर्का थरी खरानीको थुप्रोमा बसेर अट्टहास गर्दै हामीले जित्यौँ भनिरहेको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० वर्ष काँग्रेस सरकारमा नआउने र काँग्रेसकै अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै गरेको टिप्पणी स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने जिकिर गरे ।