राजनीतिसत्ता गठबन्धनसँग राप्रपा !

सत्ता गठबन्धनसँग राप्रपा !

काठमाडौं | कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग चुनावी तालमेल गरेको साता नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा चुनौती थपिएको छ।

२०७४ को निर्वाचनमा एमालेसँग तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनसँग मिसिने भएपछि ओलीलाई चुनौती आइलागेको हो।

ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपाले दुई साताअघि नै राम थापालाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ। एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपाल खोलेका कमल थापाले सूर्य चिह्नबाट लड्ने गरी तालमेल गरेपछि झापामा राप्रपा सत्ता गठबन्धनतिर ढल्किएको हो।

ओलीको गृहनगर भएकाले दमकको मेयर जित्नु दलहरूका लागि प्रतिष्ठाको विषय भएको छ। यस्तोमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै राप्रपालाई दमकको मेयर दिएर एमालेलाई हराउने योजनामा लागेका हुन्। यदि यी दुई दलले राप्रपाका राम थापालाई साथ दिएमा एमालेका लागि दमक जोगाउन ठूलै मिहिनेत गर्नु पर्नेछ।

यो चुनौती बुझेरै शुक्रबार नुवाकोट पुगेका ओलीले एमाले हराउन आफ्नै नगरपालिकामा कांग्रेस र माओवादीले राप्रपाको साझा उम्मेदवार बनाउने तयारी गरिहेको खुलाए। ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई कांग्रेस र माओवादी लगायतले साझा उम्मेदवार बनाउँदै छन्,’ ओलीले नुवाकोटमा भनेका थिए।

२०७४ मा ओलीले जितेको झापा क्षेत्र नम्बर ५ अन्तर्गतको दमकमा गठबन्धन दलले राप्रपा उम्मेदवारलाई सघाउने गरी छलफल भएपछि ओलीलाई बिझेको छ। पाँच दलीय गठबन्धन एकातिर हुँदा ओलीलाई आफ्नो क्षेत्र र गृहनगर जित्नै पर्ने दबाब छ। अर्कोतर्फ, बलियो प्रतिस्पर्धी राप्रपाले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्दाको परिणामले ‘झस्को’ पस्न सुरु भएको हो।

ओलीले राप्रपालाई उपप्रमुख पद दिएर गठबन्धन गर्नेगरी छलफल नबढाएका होइन्। तर, यसअघिका प्रतिद्वन्द्वी राम थापाले मेयर पद राप्रपाले पाउनुपर्ने अडान राखेपछि समस्या सिर्जना भएको थियो। २०७४ मा पनि जितेको गृहनगरको मेयर पद राप्रपालाई दिन ओलीले मानेका छैनन्।

त्यसो त, राप्रपाले पनि दमकमा गठबन्धन दल कमजोर रहेकाले आफूलाई मेयर दिएर तालमेल हुने अपेक्षा गरेको छ। त्यसकै लागि थापा गठबन्धनको बैठकमा सहभागी हुन केही दिनअघि थापा इटहरी पुगेका थिए। प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ।

औपचारिक निर्णय नभइसके पनि ओलीको गृह नगर दमकको प्रमुख राप्रपालाई दिएर अन्य स्थानमा सत्ता गठबन्धनले बाँडफाँड गर्ने आन्तरिक सहमति भएको दाबी स्रोतको छ।

के गर्ला राप्रपा?
दमक नगरपालिकामा झण्डै ३ हजार मत कम पाएर राप्रपाले अघिल्लो निर्वाचनमा पराजय भोग्नुपरेको थियो। दुईवटा वडामा जित निकालेको राप्रपा अहिले पनि दमकमा एमालेसँगको ‘बलियो प्रतिस्पर्धी’ मान्छ। उम्मेदवारीलाई नै कमजोर पार्ने गरी गठबन्धनको तयारीमा आफूहरु नरहेको राप्रपा झापाका प्रवक्ता शान नेपाल बताउँछन्।

‘सबै स्थानीय तहमा तालमेल गर्न नगर र गाउँ कमिटी तयार छन्। त्यो पनि सम्मानजनक भएमा मात्रै’, उनले भने, ‘हामीलाई केन्द्रबाट कुनै सर्कुलर आएको छैन। आज र भोलिमा सबै तहमा उम्मेदवारी घोषणा गर्दैछौँ।’

राप्रपा केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले आवश्यक्ता अनुसार तालमेलको ढोका खुल्लै राखेको बताए। सबै राजनीतिक दलसँग संवादको ढोका खुला राखिएको बताउँदै उनले आफूहरु सकारात्मक परिणामको अपेक्षासहित उत्साहित भएको बताए।

आफ्नै तागतमा चुनाव लड्ने बताएका श्रेष्ठले आवश्यकताअनुसार तालमेल हुने जानकारी दिए। ‘०७४ को राप्रपालाई हेरे तालमेल हुन सक्दैन’, उनले भने, ‘२०७८÷७९ मा आउँदा राप्रपा धेरै फैलिसकेको छ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img