काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण अलपत्र परेको छ ।
प्रधानमन्त्री देउवाले बजेट पास गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सकिने अडान लिएपछि नेकपा एसको निर्णय अलपत्र परेको हो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नका लागि उपयुक्त समय नरहेको बताएका हुन् ।
‘अहिले मन्त्रिपरिषद् हेरफेर गर्ने उपयुक्त समय हैन । पहिला बजेट पास होस् त्यसपछि सोचौँला’, बैठकमा प्रधानमन्त्रीले भनेको बताउँदै स्रोेतले भन्यो, ‘मेरो नाम चाहिँ नलेखिदिनुहोला ।’
मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले लत्याएपछि नेकपा एसको नेतृत्व तह नै असन्तुष्ट बनेको छ । सम्मानित नेता झलनाथ खनालले त आफ्नो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने र कसलाई फिर्ता बोलाउने भन्ने अधिकार अरु कसैलाई नरहने भन्दै आक्रोश व्यक्त गरेका छन् । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार यो धर्तीका कुनै पनि शक्तिसँग नरहेको उनको टिप्पणीले पनि गठबन्धनको बिहान बसेको बैठकमा चर्काचर्की परेको अनुमान गर्न सकिन्छ ।
आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय नेकपा एसको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताएका हुन्।
‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौँ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन’, खनालले भनेका छन् ।
खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै यसबाट दायाँबायाँ नहुने पनि बताए । नेकपा एसका कतिपय नेताले आज नयाँ मन्त्रीको शपथ रोकिए पनि छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने दाबी भने छाडेका छैनन् । तर प्रधानमन्त्री देउवा भने अब छोटो समयका लागि मन्त्री परिवर्तन गर्ने पक्षमा देखिएका छैनन् ।