काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले ‘माल’ नआएसम्म किसानका लागि ‘मल’ ल्याउदैन भन्दै गम्भिर आरोप लगाएका छन्।
बुधबार कृषि मन्त्रालयको बजेट माथिको छलफलमा भाग लिदै उनले मलको खोजीमा कृषिमन्त्री भारत गएको उल्लेख गर्दै मल आउनेमा आशंका व्यक्त गरे।
भट्टराईले भने, ‘आज बालीनाली लगाउने बेला छ। मलको हाहाकार छ। मल छैन। हामीले सुनि राखेकाछौं–मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ। कहाँ पुग्नु भयो? उहाँको हालखवर के छ? मल आउँछ कि आउँदैन? लिएर आउनु हुन्छ कि हुन्न? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि? भन्ने आशंका पनि छ यहाँ। अर्को कुरा, मल आउँछ। तर यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजी रहेको छ। जवसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन। त्यसकारण हामीले मल खोजेको हो सभामुख महोदय। मालको पछाडि लाग्न खोजको होइन हामीले। म, त्यो कुरा स्पष्ट गर्न चाहन्छु।’
उनले सरकार किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाए।