काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् ।
शुक्रबार नेपाल पर्वतारोहण संघको कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बित्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । अर्को पटक देशको नेतृत्व गर्ने मौका पाउने हो भने देखा परेका विसंगतीहरुमाथि प्रहार गर्दै देशलाई नयाँ युगमा लैजानुपर्छ भन्ने सपना छ ।’
प्रधानमन्त्रीमा प्रचण्डको दाबी यो समयमा आएको छ, जतिबेला उनको दल गठबन्धनका लागि तानातानको अवस्थामा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्रलाई आफ्नै गठबन्धनमा राखेर चुनाव लड्न चाहन्छ भने प्रमुख विपक्षी नेकपा एमालेले पनि गठबन्धन गर्नै परे माओवादी केन्द्रसँगै गर्न चाहन्छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रलाई साथमै राखेर चुनावमा जान चाहन्छन् । यदि कांग्रेसले गठबन्धन नगर्ने हो भने २०७४ मा झै एमालेतिर जाने र चुनावी परिणाम प्रतिकुल हुने देउवाको विश्लेषण छ । स्थानीय निर्वाचनका बेला एक्लै लड्नुपर्छ भन्ने मत राख्ने कांग्रेस नेताहरु पनि अहिले गठबन्धनको पक्षमा छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अब कम्तिमा एउटा चुनाव गठबन्धन आवश्यकता भइसक्यो ।’
पाँच दलीय गठबन्धन कायमै रहे चुनावी परिणाम आफ्नो अनुकुल नहुने प्रमुख प्रतिपक्षी एमालेले पनि राम्ररी बुझेको छ । त्यसैले एमालेमा पनि माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा जानुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ ।
एमालेका दोस्रो तहका नेताहरुले वाम गठबन्धनको पक्षमा रहेका माओवादी नेताहरुसँग सम्वाद गरेका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म सार्वजनिक रुपमा वाम गठबन्धनबारे केही बोलेका छैनन् ।
वाम गठबन्धनको पक्षमा रहेका राष्ट्रियसभा सदस्यहरु ओलीको धारणा बुझ्न बिहीबार बालकोट पुगेका थिए । तर ओलीले एक्लै चुनाव लड्ने गरी तयारी गर्न निर्देशन दिएर पठाएका छन् । यद्यपि २०७४ मा झै आकस्मिक निर्णय हुनसक्ने सम्भावनालाई नकार्न नसकिने भेटमा सहभागी एक सांसद बताउँछन् ।
एमालेका एक पदाधिकारीका अनुसार ओली र उनको कोर टिम अझै वाम गठबन्धन नगरी हुन्न भन्ने निष्कर्षमा पुगेको छैन । त्यो नहुँदासम्म गठबन्धन हुँदैन । भन्छन्, ‘हिजो पनि जेसुकै कारणले होस्, ओली र प्रचण्ड सहमत भएर गठबन्धन भएको हो । अहिले पनि उनीहरु तयार नहुँदासम्म गठबन्धन सम्भव छैन ।’