राैतहट – रौतहटको बाग्मती नदीमा पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।
बाग्मती नदीमा स्थानीयवासी वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो । पुल बन्ने आशा बोकेका बाग्मती पारिका वडहर्वावासीलाई आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ । पुल समयमा नै नबन्दा बाग्मती पारि बसोवास गर्ने झन्डै चार सय घरका मानिस जोखिम मोलेर काठको डुङ्गामा यात्रा गर्न बाध्य छन् ।
बाग्मती नदीमा विसं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पक्की बनाउनका लागि शिलान्यास गरेका थिए । प्रधानमन्त्रीबाट पक्की पुल निर्माणका लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य वडहर्वावासी खुसी भएका थिए । तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा उनीहरू रुष्ट भएका छन् । यहाँ पुल बनेमा रौतहट र सर्लाहीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बाग्मती नदी पुलको ठेक्का लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख नाै हजार चार सय ३३ रुपैयाँमा पाएको थियो । ठेक्का लुम्बिनीले पाए पनि निर्माणको काम पप्पु कन्सन्ट्रक्शनले थालेको थियो । पप्पु कन्ट्रक्शनले सडक विभागसँग २०६७ जेठ ३१ गते २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । १७ स्पानसहितका याे पुलको लम्बाइ ६ सय ३३ मिटर र चौडाइ दुई लेन हुने बताइएकाे छ । स्पान निर्माणको काम सकिए पनि बाँकी काम भने सुरु भएको नाै वर्षभन्दा बढी भइसकेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय पर्साले लुम्बिनी बिल्डर्ससँग ठेक्का रद्द गरेपछि फेरि आह्वान गरेको ठेक्का महालक्ष्मी विकास वाईपी जेभी जनकपुरले २०७९ वैशाख ११ गते सम्झौता गरी २०८१ कात्तिक १० गते काम सक्ने गरी ५७ करोड ४० लाख ७७ हजार पाँच सय एक रुपैयाँमा सम्झौता गरेको छ । कार्यालयले नयाँ ठेक्का लगाए पनि काम भने सुरु हुन सकेको छैन ।