काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीदेखि गभर्नरसम्म राजनीतिक दलमा आबद्ध व्यक्ति राख्ने गरिएको स्वीकार गरेका छन् ।
उनले एमाले अर्थ तथा योजना विभागको सदस्य एम. अधिकारी को हो भन्ने खोज्नका लागि चुनौती पनि दिएका छन् ।
आइतबार एक कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरेको अनियमिततालाई लुकाउनका लागि एमालेको अर्थ विभागका एम. अधिकारीको प्रसंग सत्तापक्षले झिकेको पनि आरोप लगाए ।
‘खोजे हुन्छ; एम. अधिकारी कहाँ छ ? म टर्चको ब्याट्री किनिदिन्छु । एम. अधिकारी को हो म पनि जान्दिनँ,’ उनले आफ्नै अर्थ तथा योजना विभागको सदस्य नचिन्ने पनि बताए ।
एमाले केन्द्रीय विभागमा एम. अधिकारी सदस्य भएको सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम. अधिकारी भएको सार्वजनिक बहसमा आएको थियो । २०७३ सालमा महाप्रसाद अधिकारी एमालेको उक्त विभागको सदस्यमा थिए ।
खोटाङका अधिकारी छोटकरी नाम उल्लेख गरेर पार्टीको केन्द्रीय विमागमा बसेको भनेर आलोचना भएको थियो । एमाले अध्यक्ष ओलीले भने आफूले पनि एम. अधिकारीलाई नचिन्ने भन्दै खोज्ने भए टर्चको ब्याट्री किनिदिने भन्ने जवाफ दिनुका साथै विगतमा र अन्य निकायमा पनि त्यस्ता व्यक्ति रहेको उल्लेख गरेका छन् ।



