काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गएका हुन् । एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओलीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गरेका छन् । उनले प्रहरीकाे जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओलीसरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताए ।
उनले भने , ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ । मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडकाे राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने नेता सायद मैले अर्को भेटिनँ । एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु ।’
खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पारे । उनले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताए । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गरे ।
पूर्व आईजीपी खनालले एमालेको इमानदार सिपाहीको रूपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताए । उनले आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको बताए । उनले नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाए ।