काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ ।
१३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ ।
आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् ।
संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । उनीहरुले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् ।