विराटनगर | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यलाई प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै आचार्यसहित ६ जना विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको हो । आचार्यले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मागेका थिए । त्यो मन्त्रालय भने दुर्गा प्रसाद चापागाईंले पाएका छन् ।
यस्तै एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको छ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन आफैँसँग राखेका छन् । नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् ।
यसै गरी राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ ।
अब यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ ।
मुख्यमन्त्रीले पुस २५ गते तीन जना र २९ गते मन्त्री मण्डल विस्तार गरेका थिए । मन्त्रिपरिषद्को आज बैठकले १३ वटा साबिकको मन्त्रालयलाई ९ वटामा सीमित गरेपछि मन्त्रीहरूले पनि जिम्मेवारी पाएका हुन् ।