इटहरी / इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो ।
कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।
उनले सम्पत्ती कर, लिखत पाससम्बन्धि व्यवस्था, निजी विद्यालयसम्बन्धि कर, वैदेशिक रोजगारीसम्बन्धि कर र साना तथा मझौला व्यवशायीहरुले तिर्नुपर्ने करहरु नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ ।
कार्यपालिका बैठकमा सहभागि सदस्यहरुले तत्काल कार्यान्वयनमा लगेर नगरसभाबाट अनुमोदन गर्न जोड गरेका थिए । मेयर पौडेलले भने लिखत पाससम्बन्धि व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धि करहरुबारे निर्णय गरेर एकैपटक नगरसभाबाट पास भएपछि मात्र घटेको कर लागु गर्ने बताए । यस्तै यसअघि नगरसभामा प्रतिनिधित्व गर्ने एमालेका ४३ जना सदस्यले हस्ताक्षर गरेर आह्वान गरेको विशेष अधिवेशनको माग फिर्ता लिएको घोषणा गरिएको छ ।
सम्पत्ती कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए । माग फिर्ता लिएपछि मेयर पौडेलले धन्यवाद दिएका थिए ।
कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर संकलन स्थिती निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरु कर घट्ने आशमा कर नतिरि बसेका छन् ।
यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए ।



