इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले करको विषयमा नेकपा एमालेका केहि नेताहरुले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।
इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्तीसमेत जनाएका छन् । भित्र एउटा सहमति गर्ने अनि बाहिर कुरा फेरेर एमालेले नाटक मन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन् ।
बुधबार दिउँसो १ बजेलाई तोकिएको १४ औँ नगरसभा बैठक स्थगित हुनुमा नेकपा एमालेका जनप्रतिनिधिहरु दोषी रहेको उनको भनाई छ । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले अनुचित दबाब दिएको समेत आरोप लगाए ।
राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमाले जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा पार्टीको ह्विपमा अवरुद्ध गर्न खोजेपछि आफूले स्थगित गर्नुपरेको स्पष्टिकरण दिए ।
कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ । राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् ।
इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।