सुनसरी: धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो फेसबुक वालमा एक ‘कन्टेन्ट’ सेयर गर्दा आपत आइलागेको छ ।
आइतबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा उपप्रमुख आइन्द्रविक्रम बेघाले प्रमुख साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उनले फेसबुकमा सेयर गरेको युट्युब भिडियोको ‘कन्टेन्ट’बारे पुष्टि गर्न चुनौती दिए ।
धरानमा आफू उपप्रमुखमा निर्वाचित भएर आएदेखि नै प्रमुखलाई साथ दिएको भएपनि पुष्टि नै नहुने युट्युब भिडियो प्रमुखले सामाजिक सञ्जालमा सेयर गरेर भ्रममा पार्न खोजेको बताए । ‘मेयर हर्कको विरोधी, उपमेयर आइन्द्रको मन पहिलेदेखि नै विषालु’ शीर्षकको युट्युब कन्टेन्ट मेयर साम्पाङले २ जनवरीमा आफ्नो सञ्जालमा सेयर गरेका छन् । सोही विषयलाई लिएर आइतबारको कार्यपालिका बैठकमा उपमेयर बेघा आक्रमक बनेका हुन् ।
‘तपाईले खेलाँची गरेको हो ? किन शेयर गर्नुभो ?’, उपमेयर बेघाले मेयर साम्पाङसँग प्रश्न गरे, ‘तपाईंलाई आँखा चिम्लेर काँधमा बोकेर हिँडेको हो । तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’
उनले उक्त स्टाटसको पुष्टि गर्न चुनौती दिए । यसबेला भने मेयर साम्पाङलाई आपत आइलाग्यो । स–साना कुरामै रमाउने गरेका मेयर साम्पाङ खासगरी सामाजिक सञ्जालमा प्रसंसा रुचाउँछन् । लाइक र कमेन्टमा रमाउने उनले आफ्नै उपमेयरको उक्त पोस्टले भने पिरलो बनायो । उनी यसबीचमा अक्क न बक्क बने ।
‘तपाईँले जे पायो त्यही बोल्न मिल्छ ?’ भन्ने उपमेयर बेघाको प्रश्नमा मेयर साम्पाङले आफू नेता भएको र उपनेताले धेरै काम, कर्तव्य गर्न नमिल्ने तर्क राखे ।
‘तपाईँ उपनेता हो, नेता त म हो । तपाईँ उपमेयर हो, उपमेयर भनेको उपनेता मात्रै हो,’ मेयर साम्पाङले भने, ‘केन्द्रसँग टसल गर्न साथ दिनु छैन ।’ साथ नदिएको बताइरहँदा उपमेयर बेघा झनै आक्रोशित बने । अहिलेसम्म एक शब्दपनि नबोलेको बताउँदै उनले साथ नदिएको कुराको पुष्टि गर्न चुनौती दिए ।
‘घरी गणराज्य बनाउँछु भन्नुहुन्छ । घरी धरान छुट्टै राज्य अरे,’ उपमेयर बेघाले भने, ‘घरी ताला लगाइदिन्छु भन्नुहुन्छ । घरी के भन्नुहुन्छ । धरानको नागरिकले तपाईँलाई जनताको अभिभावक होस् भन्ने चाहनुहुन्छ । तर, तपाईँ घरी कसको मुख टाल्नुहुन्छ, कसैको आँखा घोच्नुहुन्छ, कसैको भुँडी घोच्नुहुन्छ ।’
मेयर साम्पाङ र उपमेयर बेघाबीचको चर्काचर्कीमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू भने मौनजस्तै बने । यसैबीच धरान उपमहानगरपालिका मेयर साम्पाङको कार्यकक्षबाट हटाएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर आइतबार कार्यपालिका बैठक सभाहलमा राखिएको छ ।