काठमाडौं- सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री लामिछानेले कतारका अमिर आउने दिन सार्वजनिक बिदा दिइएको विषयमा स्पष्टीकरण दिएका छन्। विगतका कयौं निर्णय र परम्पराहरूलाई नीतिगत निर्णय गरेर सच्याउनुपर्ने बताउँदै उनले भनेका छन्, “अनावश्यक विदा, ‘भिआईपी सवारी’ नागरिकले पाउने सास्ती, करोडौं खर्चेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवालाले मात्र अपराधीलाई छुट पाउने र सुरक्षाकर्मीलाई कामदार बनाउने परम्परा लगायतका विषयमा लगातार काम भइरहेको छ।”
गृहमन्त्री लामिछानेले तीन दशकका अभ्यासहरूलाई सच्याउनका लागि समय लाग्ने बताएका हुन्। उनले भनेका छन्, “विगतका कयौं निर्णय र परम्परा छन्, जसलाई नीतिगत निर्णय गरेर सच्याउनुपर्छ। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ।” “धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ”, उनले थपे।
गृहमन्त्री लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गरिरहेको, लाखौं नेपालीलाई रोजगारी दिइरहेको र नेपालसँग ऐतिहासिक सम्बन्ध रहेको मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा ससम्मान स्वागत गरेका छन्।