काठमाडौं | सरकारले सुशासनको दाबी गरिरहेको भए पनि स्वयं सत्तापक्षकै सांसदहरूले समेत त्यसलाई विश्वास नगर्ने अवस्था आएको नेता चित्रबहादुर केसीले टिप्पणी गरेका छन्।
संसदमा सरकारद्वारा पेस गरिएको प्रतिस्थापन विधेयकमाथि छलफल गर्दै उनले सरकारकै गतिविधिले लोकतन्त्र र गणतन्त्र नै घेराबन्दीमा परेको आरोप लगाए।
प्रतिस्थापन विधेयकको नाम ‘सुशासन’ राखिएको भन्दै नेता केसीले त्यसमा गम्भीर आपत्ति जनाए। उनले भने, ‘जुन सरकारले अध्यादेशबाट शासन गर्छ, त्यो सरकारले सुशासनको कुरा पत्याउने कसले?’
उनले सरकारको निर्णयहरू लोकतान्त्रिक प्रक्रियाभन्दा अध्यादेशमा बढी निर्भर रहेको भन्दै आलोचना गरे।
नेता केसीले सरकारका मन्त्रीहरूले सात महिनासम्म पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयलाई प्रमुख मुद्दा बनाउँदै सरकारमाथि प्रश्न तेर्स्याए।
उनले सरकारलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूसँग यति धेरै सम्पत्ति छ कि त्यसको विवरण बुझाउनै गाह्रो परेको हो?’
नेता केसीले सरकारकै गलत गतिविधिहरूका कारण लोकतन्त्र र गणतन्त्र नै संकटमा पर्ने खतरा देखिएको बताए।
उनले सरकारलाई तत्काल आफ्ना नीति र कार्यशैली सच्याउन आग्रह गर्दै भने, ‘जनताले बलिदान दिएर ल्याएको व्यवस्था रक्षा गर्नु सरकारको दायित्व हो, तर हालको अवस्थाले जनतामा निराशा बढाइरहेको छ।’



