हेटौँडा | बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक तथा परिचयात्मक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा आज हेटौंडामा परिषद्को पहिलो बैठक तथा परिचयात्मक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बैठक बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा बालश्रम निवारण रणनीतिक योजनाको मस्यौदा, पाँच वर्षे रणनीतिक योजना, प्रदेश श्रम तथा रोजगार नीति लगायत विभिन्न विषयमा छलफल गरिएको थियो। बैठकमा आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा विनियोजन गरिएको बजेट तथा योजनाहरूको विषयमा समेत छलफल भएको थियो ।
मन्त्री महर्जनका अनुसार आगामी आवमा मन्त्रालयले यातायात क्षेत्रको रोजगारीमा जोड दिँदै डिजिटल मार्केटिङ, आइटी तालिम, महिला चालक र सम्मानजस्ता थुप्रै कार्यक्रम संचालन गरिने जानकारी दिएका छन् । साथै, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेत जोड दिइने मन्त्रीले बताएका छन्। उनले प्रदेश श्रम सल्लाहकार परिषद्को भूमिका आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा समेत महत्वपूर्ण रहने स्पष्ट पारे।
बैठक तथा अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा प्रदेश श्रम सल्लाहकार परिषद्का सदस्य कृष्ण प्रसाद मैनाली, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुसाल, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव अमृत अधिकारी, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको उपस्थिति रहेको थियो ।
त्यसैगरी परिषद्का अन्य सदस्यहरू रामहरी नेपाल, ऋतु भट्ट (राई), सुनिल मल्ल, सत्यमान लामा, गणेश भट्टराईको उपस्थिति रहेको थियो । श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख तथा सदस्य सचिव सुनिता गजुरेल, मन्त्रालयका विज्ञ सल्लाहकार तुलसी रिजाल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।



