पोखरा | केही दिनदेखि हराएको भनिएको हायू परिवारका १५ जना सदस्य पोखराको गगनगौंडा क्षेत्रमा फेला परेका छन्। कास्की प्रहरीले उनीहरूलाई गौँडगौडास्थित एक स्थानीयको घरमा बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, फेला परेका सबैले सिन्धुलीबाट पोखरा आइपुगेको र यहाँ मजदुरीको काम खोज्न आएको बताएका छन्। प्रहरीले उनीहरूलाई गगनगौंडाका स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा पत्ता लगाएको हो।
‘हामी मजदुरी गर्न आएको हौं,’ प्रहरीलाई दिएको बयानमा उनीहरूले भने, ‘काम खोज्ने उद्देश्यले पोखरा आएका हौं।’
ओलियाका अनुसार, उनीहरूले सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर पोखरा आएका थिए। पोखरा आएपछि पहिलो दिन होटलमा बसेका उनीहरूले भोलिपल्ट होटलबाट चेकआउट गरेर स्थानीयको घरमा सरेका थिए। प्रहरीले त्यसको भोलिपल्ट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
‘१४–१५ दिन बस्ने योजनासहित पोखरा आएका थिए,’ ओलियाले भने, ‘उनीहरू हाल इलाका प्रहरी कार्यालयमा राखिएको छ र थप अनुसन्धान भइरहेको छ।’
यसअघि उनीहरू हराएको भन्ने सूचना सार्वजनिक भएपछि परिवारका बारेमा चासो बढेको थियो। तर, प्रहरी अनुसन्धानबाट उनीहरू योजनाबद्ध रूपमा पोखरा आएको पुष्टि भएको हो।
प्रहरीका अनुसार उनीहरूका साथमा कुनै आपराधिक उद्देश्य भेटिएको छैन, तर नियमनका लागि सोधपुछ जारी राखिएको छ।



