राजनीतिबागमती प्रदेशमा दुई वर्ष आठ महिनामै पाँच पटक विश्वासको मतको खेल

बागमती प्रदेशमा दुई वर्ष आठ महिनामै पाँच पटक विश्वासको मतको खेल

हेटौँडा | बागमती प्रदेशसभाको दुई वर्ष आठ महिनाको अवधिमा पाँचपटक विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ। २०७९ मंसिरको आम निर्वाचनपछि गठित प्रदेशसभामा अहिलेसम्म तीन मुख्यमन्त्रीले पाँच पटक विश्वासको मत लिएका छन्।

हालै, मंगलबार, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बनेपछि पहिलोपटक विश्वासको मत लिए। एमालेका २७ र कांग्रेसका ३६ सांसदसहित उनको पक्षमा ६३ मत पर्‍यो। एक कांग्रेस सांसद अनुपस्थित रहे। एक सय दस सदस्यीय प्रदेशसभामा विपक्षमा २२ र तटस्थमा सात मत पर्‍यो। बैठकमा ९२ सदस्यको उपस्थिति थियो।

यसअघि, २०८१ साउन १५ मा तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका थिए। गठबन्धनको समर्थनमा उनले ६४ मत पाएका थिए। लामाविरुद्ध कांग्रेस भित्रै अविश्वास प्रस्ताव दर्ता भएपछि साउन १८ मा उनले राजीनामा घोषणा गरे र साउन २० मा बानियाँ मुख्यमन्त्री बने।

२०७९ को निर्वाचनपछि गठन भएको प्रदेशसभामा पहिलो १६ महिनामै तीनपटक विश्वासको मतको प्रक्रिया भएको थियो। तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले फरक–फरक गठबन्धनबाट तीनपटक मत लिएका थिए। चौथोपटक विश्वासको मत लिन साउन ६ गते बैठक आह्वान गरे पनि समीकरण नमिलेपछि उनले पद त्याग गरे।

जम्कट्टेलले पहिलोपटक २०७९ माघ ३ मा एमाले–माओवादी केन्द्र–राप्रपा–एकीकृत समाजवादीको गठबन्धनबाट १०५ मत पाए। दोस्रोपटक २०७९ चैत १० मा कांग्रेससहित ६७ मत पाए। तेस्रोपटक २०८० चैत १९ मा ५६ मत पाएर सरकार जोगाए।

यसबीच, गठबन्धन परिवर्तन, समर्थन फिर्ता र आन्तरिक विवादका कारण बागमती प्रदेशमा सत्ता अस्थिरताको क्रम रोकिएको छैन।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img